क्योकुशिन बुदोकाई कराँते संघ कास्कीको अध्यक्षमा थापा

जनसम्मत
चैत्र २३, २०७५, शनिबार

पोखरा, २३ चैत । नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्कीको अध्यक्षमा बेलबहादुर थापा चयन भएका छन् ।

संघको शुक्रबार सम्पन्न पाँचौं अधिवेशन तथा नवौं साधारणसभाले तीन वर्षे कार्यकालका लागि थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दानबहादुर क्षत्री र सागर गिरी, सचिवमा सुरेशराज अधिकारी, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ छन् । सदस्यमा टुकदेवी पुन, निर्मलबहादुर केसी, चेत्रमान थापा, चन्द्र गुरुङ (जिम्मी) र सुमन पर्तेल छन् । तीन सदस्य पछि थप गरिने संघले जनाएको छ ।

संघले वर्षेनी माघे संक्रान्तिको अवसरमा ढुंगेसाँघुमा क्योकुशिन बुदोकाई कराँते (फुल कन्ट्याक्ट) राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दै आएको छ । संघले अहिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणपछि चना अण्डा तथा फलफूलको व्यवस्थासमेत गरिदिएको छ ।

संघका कोषाध्यक्ष सागर गिरीले अधिवेशनको बन्द सत्रमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघमा विभिन्न कार्यक्रम गरी ७५ हजार रुपैयाँ बचत रहेको जानकारी गराए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले कार्यक्रमको उदघाटन गरेका थिए । नव निर्वाचन समितिको संयोजकमा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भूमिका निर्वाह गरेका थिए ।