२०१९ को डिसेम्बरभित्रै साग गेम हुने नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठको दावी

जनसम्मत
चैत्र २३, २०७५, शनिबार

पोखरा, २३ चैत । नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सन् २०१९ को डिसेम्बरमै हुने दावी गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा हुने आगामी साग डिसेम्बर १ देखि १० सम्म गर्ने तयारी भएको दावी गरेका हुन् ।

साउथ एशियन ओलम्पिक काउन्सिलका अध्यक्ष रहेका श्रेष्ठले विगतमा राजनीतिक अस्थिरताका कारण यसको मिति सर्दै आएकोमा अब भने २०१९ पछि गर्न नसक्ने हुँदा निर्धारित सो मितिमै प्रतियोगिता हुने उनले आश्वासन दिए ।

डिसेम्बरमा गर्न सक्नेबारे नेपाल सरकारबाट ओलम्पिक कमिटीले यसको भूमिका खेलिदिनुप¥यो भने बमाजिम बैंककमा सन्पन्न सदस्य राष्ट्रहरुसँगको छलफलका क्रममा सरकारका युवा तथा खेलकुद मन्त्रीमार्फत सो मितिमा गर्न सक्ने साउथ एशियन ओलम्पिक काउन्सिललाई प्रतिबद्धतापत्र उपलब्ध गराए बमोजिम सो मिति तय भएको श्रेष्ठले स्पष्ट पारे ।

यो सँगै तेस्रो पल्ट मिति तय गरिएपछि सरकार सोही अनुरुप काठमाडौं र पोखरामा हुने विभिन्न खेल प्रतियोगिताको लागि पूर्वाधार तयारीमा जुटेको छ ।

ओलम्पिक कमिटीको गतिविधिबारे पत्रकारको जिशासामा उनले कमिटीको आफ्नै सीमितता हुने भन्दै आफूहरु निस्क्रिय नरहेको र आफ्नै ढंगले सक्रिय भएको दाबी गरे । उनले आफूहरु छाता संगठन भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले नेपालमा जुन भूमिका अघि बढाउन निर्देशन दिएको छ, सोही अनुरुप यसका २७ वटा एशोसिएसनहरु मेम्बर अर्गनाइजेसनसँग सहकार्य गरी खेल गतिविधि जारी राखेको बताए ।

प्रतिनिधिसभा सदस्य समेत रहेका श्रेष्ठ २०५३ र २०६४ मा गरी दुईपल्ट राखेपको सदस्य सचिव भएर जिम्मेवार बहन गरिसकेका छन् । उनले पोखरामा बन्दै गरेको रंगशाला निर्माण तत्काल छिटो गरी होम ग्राउण्डमै खेलाडीले अभ्यास गर्न पाएमा सागमा रिजल्ट ल्याउन सहज हुने बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको मञ्चका महासचिव विजय नेपालले संचालन गरेका थिए ।