पाँच वर्षमा सबै सुकुम्वासीले लालपुर्जा पाउने गण्डकी प्रदेश सांसद प्रभा कोइरालाको दावी

जनसम्मत
चैत्र २६, २०७५, मंगलवार

पोखरा, २६ चैत । गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले अबको पाँच वर्षमा सबै सुकुम्वासीले स्थायी वासको लागि लालपुर्जा भएको जग्गा पाउने वताएकी छन् ।

राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा मंगलबार पोखरामा भएको नयाँवर्षको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कोइरालाले भनिन्, ‘धेरै आन्दोलनहरु गरेर जनताले खोजेको शासन आएको छ । अब जुलुस निकाल्ने, टायर बाल्ने जस्ता कुनैपनि सरकार विरोधी कार्यहरुमा लाग्नु पर्नेछैन । भूमिहीन सवै जनताले पाँच वर्षभित्र लालपुर्जा पाउनेगरी सरकारले कार्य गरिरहेको छ ।’

उनले पटक पटक सरकारले राम्रो कार्य गरिरहेको वताउँदै सरकारलाई सकरात्मक सुझावसहित खबरदारी गर्न आग्रह गरिन् । ‘सरकारले आफ्नो अनुकुल समयमा सुकुम्वासीहरुको माग सुनुवाइ गर्दै आएको छ,’ उनले बताइन्, ‘तर, भूमिहीन सुकुम्वासीहरु पानी जस्तै तरल प्रकृतिको हुन् । उनीहरु आफ्नो हक अधिकारप्रति सबै जुटेर एकतावद्ध भई लक्ष्य प्राप्तीको लागि प्रतिबद्ध हुनु पर्छ ।’

नेपाल वार एशोसियनका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र थापामगरले भने, ‘भुमि अधिकारसम्बन्धी कानुनले कुनैपनि नागरिकलाई बसेको स्थानबाट अन्यत्र सार्न पाइदैन । सार्नुपर्ने भएमा सरकारले स्थानीय बासिन्दालाई व्यवस्थापन गरेर, उनिहरुको सहमतिमा मात्रै हटाउन सक्छ ।’

राष्ट्रिय नेपाल भुमिहिन सुकुम्वासी संगठनका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले आफूहरु बिकासबिरोधि नभएको तर भूमाफियाहरुको चलखेल बढेको वताए । उनले भने, ‘बसपार्कबाट सुकुम्बासी हटाउने उद्देश्य मात्रै भएको तर व्यवस्थित गर्ने कुनै योजना नै छैन । प्रदेश सभामा यस विषयमा कुरा हुनुपर्छ । किनकी मजदुरले हार्ने केही छैन । जित्नको लागि संसार हो ।’

सो अवसरमा २०७५ सालको दिपावलीमा देउसी भैलोमा आर्थिक सहयोग गर्ने पोखरा ९ का शिव टोल, शुभकामना टोल, कृष्ण टोल, गणतान्त्रिक टोल, पार्वती टोल, पोखरा १९ को माथिल्लो गोस्ते टोल, पोखरा १६ को तल्लो गोस्ते टोल, पोखरा २५ को मसिना वगर टोल, पोखरा १८ को पिपलडाली टोल, पोखरा १ वगरको शान्ती टोल र पोखरा १३ निवासी धनकुमारी गुरुङलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।