पश्चिम तराईमा चर्को घाम र तातो हावा हुरीसँगै (लु) चल्यो, ग्रामीण बस्तीमा आगलागीको जोखिम

नेपालगञ्जको अधिकतम तापक्रम ४३ र न्यूनतम तापक्रम ३७ डिग्री सेल्सियस

जनसम्मत सहकर्मी
वैशाख २७, २०७६, शुक्रबार

नेपालगञ्ज । पश्चिम तराईमा चर्को घाम र तातो हावा (लु) चलेसँगै गर्मी बढेको छ ।

तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ ।

नेपालगञ्ज लगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम लाग्नुका साथै तातो हावा (लु) चल्न थालेको समाचार छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयले यहाँको अधिकतम तापक्रम वर्षकै सबैभन्दा बढि ४३ डिग्री सेल्सियस अभिलेख भएको छ ।

गर्मीयाम शुरु भएयता पानी नपरेपछि चर्को घामका साथै ‘लु’ चल्न थालेको हो । कार्यालयका अनुसार, नेपालगञ्जको अधिकतम तापक्रम  ४३ र न्यूनतम ३७ डिग्री सेल्सियस आसपास रहेको छ ।

चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्नसमेत गाह्रो भएको छ ।

अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्दा ‘लु’ लाग्नसक्ने र यसका कारण शरीरबाट पसिना धेरै निस्केर शरिरमा पानीे कम हुने र पानी कम भएपछि अंगहरुले तापक्रमलाई व्यवस्थित राख्न नसक्दा कमजोरी हुने लगायत अन्य शारिरिक समस्या देखापर्ने भएकाले यसबाट बच्न पर्याप्त पानी पिउन भेरी अस्पतालका अधिकारीले स्वास्थ्य सतर्कता अपनाउन सुझाव दिएका छन् ।

‘बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्ने, पानीको बोतल साथैमा राखी पटक/पटक पानी पिउनुपर्ने खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ र फलफूल प्रशस्त मात्रामा खानुपर्ने र कडा घाममा नशालु पदार्थ सेवन गर्न नहुने स्वास्थ्य अधिकारीको सुझाव छ ।