१३ औं दक्षिण एशियाली खेलकुद ‘साग’को प्रतिक चिन्ह लोगो र म्यासकट सार्वजनिक

प्रतिक चिन्हमा परेवा र म्यासकटमा कृष्णसार

एजेन्सी
वैशाख ३१, २०७६, मंगलवार

पोखरा । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’को प्रतिक चिन्ह लोगो र म्यासकट सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा लोगो र म्यासकट सार्वजनिक गरिएको थियो । सागको प्रतिक चिन्ह लोगोमा परेवा राखिएको छ भने म्यासकटमा कृष्णसार राखिएको छ । खुल्ला चित्र प्रतियोगिताबाट छानिएको लोगो र म्यासकट भोलानाथ पौडेलले बनाएका हुन ।

लोगोमा राखिएको परेवाको आकृति र त्यसमा प्रयुक्त रंगले शान्तिलाई दर्शाउँदछ भने त्यसको पृष्ठभूमिमा राखिएको सोही रंगको रेखाले हाम्रो देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाललाई झल्काउँदछ । लोगोमा सार्क राष्ट्रहरुको प्रतिनिधित्व गराउन प्वाँखको सात आकृति समावेश गरिएको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले लोगो र म्यासकट संयुक्त रुपमा र्साजनिक गरेका थिए ।

मन्त्री विश्वकर्माले सो प्रतियोगिताको कामलाई तीव्रता दिने गरी लोगो सार्वजनिक गरिएकोे जानकारी दिए । मन्त्री विश्वकर्माले सो प्रतियोगिताको पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको बताए । सरकारले सो खेलकुद प्रतियोगिताका लागि करिब ४ अरब खर्च लाग्ने अनुमान पनि गरेको छ ।

करिब ४ अरब खर्च सो प्रतियोगितामा लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । सो बजेटको व्यवस्थापनका लागि परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाको संयोजकत्वमामा ५ सदस्यीय आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

सरकारले सो प्रतियोगिता सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशन समिति तथा मन्त्री विश्वकर्माको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिसकेको छ । त्यस अन्तरगत रहने गरी अरु पनि विभिन्न समिति गठन गरिएको र सो प्रतियोगिताको कामलाई तीव्रता दिइएको युवा तथा युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

साग खेलकुद प्रतियोगिताका खेलहरु आउने डिसेम्बर महिनाको १ देखि १० तारिख सम्म काठमाडौँ र पोखरामा सञ्चालन हुनेछन् ।