युवा र खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोडको बजेट

जनसम्मत
जेठ १६, २०७६, बिहीवार

पोखरा । सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब, ९९ करोडको बजेट विजियोजन गरेको छ ।

यस वर्ष सरकारले खेकुदमा केही रकम थप गर्दै बजेट विनियोजन गरेको हो । बजेट भाषणमा सरकारले प्रदेशस्तरीय सुविधासम्पन्न रंगशालालाई प्राथमिकतामा राखेको छ ।

यस बर्ष बजेटमा करिब २४ करोडले वृद्वि भएको छ । अघिल्लो बर्ष सरकारले खेलकुद क्षेत्रमा ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । युवा तथा खेलकुद मन्त्रालयले ३ अर्ब ४८ करोड ७२ को सिलिङ भित्र रहेर बजेट प्रस्ताव गरेको थियो ।

अर्थमन्त्री डा खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा आगामी बजेट प्रस्तुत गर्दै सरकारले स्थानीय तहमा खेलग्राम निर्माण गर्ने योजना अगाडि सारेको उल्लेख गरेका छन् । त्यसका लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहमा खेलाडीको प्रशिक्षण, क्षमता विकासका लागि प्रोत्साहन गरिने उल्लेख छ । प्रदेश र स्थानीय तहलाई थप बजेट आउने उल्लेख छ ।

त्यस्तै, मुलपानीमा निर्माणाधीन रंगशाला बनाउन १० करोड विनियोजन गरिएको छ । क्रिकेटलाई उच्च प्राथमिकतामा राख्दै आएको बजेटमा मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानलाई दुई बर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । क्रिकेट खेलका लागि क्रिकेट एकाडेमी स्थापना गरिने उल्लेख छ ।

यसैगरी सरकारले काठमाडौंमा एउटा क्रिकेट एकेडेमी समेत निर्माण गर्ने र निजी क्षेत्रको लगानीमा बन्ने खेल मैदानलाई प्रोत्साहन गरिने जनाएको छ ।नेपालमा आगामी डिसेम्बरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र २०७७ सालमा गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय

खेलका लागि आवश्यक बजेट छुट्याइएको सरकारले जनाएको छ । यस्तै शिक्षा क्षेत्र अन्तर्गत प्रत्येक विद्यालयमा एक खेल शिक्षक राखिने भएको छ ।
सरकारले निजी क्षेत्रको लगानीमा हुने प्रतियोगिता र निर्माण हुने पुर्वाधारलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यस्तै क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी बनाउने सरकारले बताएको छ ।

अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र आसन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागलाई आवश्यक बजेट विनियोजन गरेको उल्लेख छ ।