पोखरामै एसएलसी पास गर्ने पहिलो व्यक्ति वीरेन्द्रकुमार बाटाजू, जसले आधुनिक पोखराको शिक्षाको सूत्रधारको काम गरे

त्यतिबेला, नेपालको पश्चिम क्षेत्रको दाङ र पाल्पामा मात्रै दुई ठूला हाई स्कूल थियो

नारायण शाही
असार ३०, २०७६, सोमबार

जुन बेला पोखरामा स्कूल नै थिएन । त्यतिबेला, वीरेन्द्रकुमार बाटाजूले पोखरेलीमध्येबाट सबैभन्दा पहिले एसएलसी पास गरे । उनले २००७ सालमा एसएलसी पास गरेका हुन् । नेपाल सरकार, शिक्षा विभाग, काठमाण्डौंले २००८ सालको कार्तिक ५ मा एउटा नेपाल गजेट प्रकाशन गरेको थियो ।
अघिल्लो वर्ष ००७ सालको एसएलसी परीक्षामा उत्तीर्ण भाएका विद्यार्थीहरुको नामसहित उक्त गजेट प्रकाशन गरिएको थियो । वीरेन्द्रकुमार सम्झन्छन्, ‘त्यतिबेला एसएलसीलाई स्पेशल प्रवेशिका परीक्षा पनि भनिन्थ्यो ।’

त्यस वर्ष देशभरबाट जम्मा ८ जनाले मात्र एसएलसी परीक्षा पास गरेको गजेटमा नामसमेत छापिएको थियो । गजेन्द्रभक्त माथेमा र विश्वनाथ उपाध्यायले पहिलो दर्जामा उत्तीर्ण गरेका थिए । ‘गजेन्द्रभक्त र विश्वनाथ कुन स्कूलका थिए ?,’ स्वयं आफूलाई थाहा नभएको वीरेन्द्रकुमार बताउँछन् ।

विश्वनाथ उपाध्याय पछिल्लो समयमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीश बनेको स्मरण चाहीँ वीरेन्द्रकुमारलाई ताजै छ । ०४८ सालको मंसीर २२ देखि ०५२ को असोज १० गतेसम्म विश्वनाथले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पद सम्हालेका थिए ।

दोस्रो दर्जामा एसएलसी उत्तीर्ण गर्नेहरुमा चूडावल्लभ पन्त, वीरेन्द्रकुमार बाटाजू, पीताम्बर खाती, युगलकृष्ण मल्ल, विजयप्रताप ज.ब.राणाको नाम गजेटमा उल्लेख थियो । तेस्रो दर्जामा उत्तीर्ण गर्ने एक जना मात्रै राजमानसिंह श्रेष्ठको नाम उक्त गजेटमा छापिएको थियो ।

चुडावल्लभ जनकपुर स्कूलका थिए । बाँकी वीरेन्द्रकुमार, पीताम्बरध्वज, युगलकृष्ण, विजयप्रताप ज.ब.राणा र राजमानसिंह श्रेष्ठ पद्मोदय–पाल्पा पब्लिक हाई स्कूल तानसेनका थिए ।

त्यस वर्ष पद्मोदय पाल्पा पब्लिक हाई स्कूलबाट पाँच जनाले एसएलसी दिएकोमा पाँचै जनाले उक्त परीक्षा उत्तीर्ण गरेको थियो । उक्त स्कूलबाट पहिलो ब्याचका रुपमा उनीहरुले एसएलसी परीक्षा दिएका थिए । त्यस वर्ष, एसएलसी परीक्षाको दोस्रो दर्जामा उत्तीर्ण गर्नेममध्ये पीताम्बर, युगलकृष्ण र विजयप्रतापले भन्दा वीरेन्द्रकुमारले नै सबै भन्दा बढि अंक ल्याएका थिए ।

त्यतिबेला, नेपालको पश्चिम क्षेत्रको दाङ र पाल्पामा मात्रै दुई ठूला हाई स्कूल थियो । पोखराबाट नजिकैको हाई स्कूल भनेको पाल्पा तानसेनको उही पद्मोदय–पाल्पा पब्लिक हाई स्कूल मात्रै थियो । पोखरामा कुनैपनि मिडिल स्कूल खुलेकै थिएन । स्कूल खोल्ने जागरण भने चलेको थियो ।

काठमाण्डौंमा भने जुद्योदय पब्लिक हाइस्कूल, दरवार हाइस्कूल र पद्मोदय नामको हाइस्कूलहरु खुलिसकेको थियो । त्यतिबेला, ति स्कूलहरुमा राणाजीका छोराछोरी र उनीहरुको दरवारमा काम गर्नेहरु कर्मचारी, स्याहारे–सुसारेहरुका छोराछोरीले मात्रै पढ्ने अवसर पाउँथ्यो ।

पाल्पामा स्कूल खुलेको एक वर्षपछि नै वीरेन्द्रकुमार त्यहाँ पढन् गएका थिए । वि.स. २००४ मा पाल्पा पुगेर कक्षा ७ मा भर्ना भएको उनी सम्झन्छन् । कक्षा सातमा उनको १४ जना सहपाठीहरु थिए । सात र आठ कक्षामा उनी प्रथम हुँदा उनका गुरुहरु खुशी भएको उनलाई सम्झना छ । वि.स. २००३ सालमा मात्रै पाल्पा तानसेनमा पश्चिम नेपालकै पहिलो हाइस्कूलका रुपमा पद्मोदय पाल्पा पब्लिक हाइस्कुल खुलेको थियो ।

उनले विन्ध्यवासिनी भाषा पाठशालाका पण्डितहरु शिवकुमार रेग्मी, सोमनाथ रेग्मी र टिकाराम रेग्मीबाट अक्षर चिनेका थिए । शुरुमा उनले गुरुहरुबाट नेपाली भाषा र संस्कृत पढेका थिए । त्यतिबेला विन्ध्यवासिनी चौरको पार्टीमा बसेर पढेको वीरेन्द्रकुमार सम्झन्छन् ।

‘विहान १० बजे कक्षा सुरु भएर चार बजे छुट्टी हुन्थ्यो,’ उनले सम्झिए, ‘अहिलेको जस्तो कापी, किताव र कलमको सट्टा त्यतिबेला स्लेट लिएर पाठशाला जानुपथ्र्यो । दिनमा एक घण्टा हाफछुट्टी हुन्थ्यो । हाफछुट्टीमा सुन्तला किनेर खान्थ्यौं । एक पैसामा सुन्तला खाएर अघाइन्थ्यो ।’

उनले अंग्रेजीको शिक्षा भने पोखरा गोश्वराका असिस्टेन्ट सुब्बा रामप्रसाद भद्रा र हरिराजाबाट सिकेका थिए । हरिराजा, मे.ज. बडाहाकिम धनशम्शेर ज.व.रा.का छोरा हुन् । रामप्रसाद भद्रा धनशम्शेरका असिस्टेन्ट सुब्बा थिए । त्यतिबेला रामप्रसाद भद्राले फस्टबुकदेखि नै उनलाई अंग्रेजी पढाए ।

वीरेन्द्रकुमारको इङ्लिसमा राम्रैसँग जग बस्यो । त्यसपछि उनले हरिराजासँग इङ्लिसको ट्रान्सलेशन र ग्रामर पढे । भाई वीरेन्द्रकुमारलाई अंग्रेजी पढ्ने र सिक्ने सबै बन्दोबस्ती जेठो दाज्यू तीर्थकुमारले मिलाइदिएका थिए । तीर्थकुमार बाटाजू त्यतिबेला पोखरा गोश्वरामा जागिरे थिए ।

पोखराको विन्ध्यवासिनी भाषा पाठशालाबाट प्रारम्भिक शिक्षा लिएपछि थप शिक्षा लिने भित्री ईच्छाले उनलाई पाल्पा पु¥याएको थियो । संस्कृत र अंग्रेजीमा राम्रो शिक्षा पाइसकेपछि उनीभित्र थप अध्ययन गर्ने अभिरुची बढ्न थाल्यो । त्यतिबेला पोखरामा संस्कृत पाठशालावाहेक अंग्रेजी शिक्षा पढ्ने, पढाउने अरु कुनै स्कूलहरु नै थिएन ।

पाल्पा तानसेनमा संरक्षकको रुपमा फूपू नाताको व्यक्ति भएकाले उनलाई काका र दाज्यूहरुले २००४ सालमा त्यहाँ पढ्ने वातावरण बनाई दिए ।

पोखराबाट स्याङ््जाको तत्कालीन सदरमुकाम नुवाकोट हुँदै पुतलीखेत झरेर आँधीखोलाको किनारै किनार, रानी रह, भुमरे, मालुङ्गा, काली गण्डकीको झोलुङ्गे साँघु तरेर, ठूली उकाली, सानी उकाली चढेर चार दिनको दिनमा हिँडेरै तानसेन पुगेको सम्झन्छन् उनी । पाल्पा जाँदा पहिलो दिन स्याङ्जाको पुतलीखेत, दोस्रो दिन एक्ले पिपल र तेस्रो दिन गैरीजंघारमा बास बसेको उनी सम्झन्छन् ।

‘त्यतिबेला थकालीको होटलहरुमा खाना खाँदै, बास बस्दै पाल्पा पुगेको थिएँ,’ वीरेन्द्रकुमारले सुनाए, ‘ठूली उकाली र सानी उकालीमा दही बेच्न राख्थ्यो । एक/दुई पैसामै एक मानो दही किनेर खान पाइन्थ्यो ।’

वीरेन्द्रकुमारले पहिलेको पाल्पाको तानसेन बजार र अहिलेको आधुनिक तानसेन बजारमा खासै फरक देख्दैनन् । उनी भन्छन्, ‘पाल्पा पुग्दा सैनिकहरु परेड खेल्ने टुंडीखेल थियो, त्यो अहिले पनि उस्तै छ । तल, अमरगञ्जमा पौवा थियो । पहिलेको ऐतिहासिक पाल्पा दरबार, भगवती मन्दिर, भीमसेन टोल र भैरव मन्दिर अहिले पनि उस्तै छ । ति बजारहरुमा दोहरै घरहरु थिए । ढुंगाले बिछाएको बाटोमा हिँड्ने मान्छेहरुको चहल पहल हुन्थ्यो ।’

अहिले पनि कुर्था सलवारसहित इष्टकोट, आँखामा चस्मा, गोरो वर्ण, सेताम्मै फुलेका कपाल, ह्ष्टपुष्ट र चिटिक्क परेको शरीर अनि हँसिलो मुहार पोखरेली अग्रज वीरेन्द्रकुमार बाटाजूको व्यक्तिगत पहिचान हो । उनी अध्ययनशील छन्, हालसम्म पनि चस्मा लगाएरै किताव र पत्रपत्रिकाहरु पढिरहेका हुन्छन् ।

‘सज्जन चरित्र, सादगी जीवन, इमान्दारिता र आत्मविश्वास जस्ता गुणहरु उसभित्र भेटिन्छन्,’ हाल, उमेरले ९२ काटिसकेका वीरेन्द्रकुमारलाई चिन्ने जानेका पोखरेलीहरु यस्तो बताउँछन् ।

पोखराको आधुनिक शिक्षा शुरु भएसँगै प्रवर्तक वीरेन्द्रकुमार बाटाजूको नाम जोडिन्छ । पोखरामै पहिलो पटक वि.स. २००६ सालमा खोलिएको ‘पोखरा पब्लिक मिडिल स्कूल’को नामसँगै वीरेन्द्रकुमारलाई सम्झन्छन् अग्रज पोखरेलीहरु । पोखरेलीहरु भन्छन्, ‘पोखरामा आधुनिक शिक्षाको सूत्र–पात उनै वीरेन्द्रकुमार बाटाजूले गरेका हुन् ।’

२००६ सालको माघमा पोखरामा पहिलो पटक ‘पोखरा पब्लिक मिडिल स्कूल’ खोलियो । सोही वर्षको मंसीरमा उक्त स्कूल स्थापनाका लागि स्वीकृति पायो । यसै स्कूलको स्थापनासँगै पोखराको आधुनिक शिक्षाको सूत्र–पात भएको पोखरेलीहरु मान्छन् । स्कूल स्थापनाका लागि सूत्राधार थिए, उनै वीरेन्द्रकुमार बाटाजू ।

पाल्पा तानसेनस्थित पद्मोदय–पाल्पा स्कूलको ८ कक्षाको अध्ययनमै रहँदा २००६ सालको वैशाखमा उनलाई पोखरामा स्कूल खोल्न ल्याइएको थियो । डेपुटी इन्स्पेक्टर अफ स्कूल अफिस, पश्चिम फाँट पाल्पाका शिक्षा निरीक्षक रामसिंह ठकुरीका साथ लागेर उनी पोखरा आएका थिए ।

पोखरा आउनासाथ वीरेन्द्रकुमारले यहाँका साहू–महाजन, शिक्षाप्रेमी र समाजसेवीहरुलाई आधुनिक स्कूलको स्थापनार्थ सचेतनासँगै निवेदनपत्रमा हस्ताक्षर गर्ने अभियान नै चलाए । हस्ताक्षर संकलनपछि उक्त निवेदनपत्रलाई वीरेन्द्रकुमार बाटाजूले शिक्षा निरीक्षकमार्फत काठमाण्डौंमा शिक्षा डाइरेक्टर मृगेन्द्रशम्शेर राणाकहाँ पठाउने सूत्राधारका रुपमा काम गरे ।

त्यस मिडिल स्कूल २००९ सालमा नेशनल हाइस्कूल बन्यो । वि.स. २०१० देखि २०१२ सम्म करिब दुई वर्ष जति बीरेन्द्रकुमार बाटाजूले नेशनल हाई स्कूलको कायम मुकायम प्रधाना अध्यापक बनेर अध्यापन समेत गराए । ‘शुरुमा नदिपुरको चउरमा खरको छाना भएको लामो कटेराबाट नेशनल हाई स्कूल स्थापना भएको थियो,’ उनी सम्झन्छन् ।

त्यतिबेला, नेशनल हाई स्कूलको हेडमास्टर बनाउन संचालक समितिका अध्यक्ष मीनबहादुर गुरुङले उनलाई काठमाण्डौंबाटै लिएर आएका थिए । उनी त्यस वेला त्रिचन्द्र कलेजमा आइएस्सीको परीक्षा छाडेर पोखरा फर्किएका थिए ।

नेशनल हाइस्कूल गण्डकी अञ्चलमै पहिलो पटक खुलेको हाईस्कूल थियो । यसपछि, अमरसिंह, भद्रकाली, विन्यवासिनी र कन्या हाई स्कूल खुलेको उनले बताए । उक्त नेशनल हाइस्कूल पछि पोखरा मल्टी पर्पोज हाई स्कूल हुँदै हाल आएर राष्ट्रिय माविको नामबाट संचालनमा छ ।

हाल, पोखराका शिक्षासेवीहरु डा. राधेश्याम कायस्थ, पवित्रमणि पौडेल, प्र्रसिद्ध चित्रकार यादवचन्द्र भुर्तेल र क्या. दिपक गुरुङ नेशनल हाइस्कूलमा वीरेन्द्रले पढाएका विद्यार्थीहरु हुन् । उनीहरुले अझैपनि वीरेन्द्रकुमारलाई गुरु मान्छन् । आदर, सत्कार गर्छन् ।

शिक्षासेवी, समाजसेवी र संस्कृतिप्रेमी वीरेन्द्रकुमार बाटाजू आधुनिक पोखराका मार्गदर्शक हुन् । पोखरेली समाज, शिक्षा र संस्कृतिको प्रवर्र्तकका रुपमा वीरेन्द्रकुमार बाटाजू विभिन्न अभिनन्दनबाट सम्मानीत भइसकेका छन् ।