रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ नामक क्षेप्यास्त्र जोड्यो

रूसी रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताउँदै सो घटनालाई महत्वपूर्ण भएको दाबी गरेका छन्

जनसम्मत
पौष १२, २०७६, शनिबार

एजेन्सी । रुसले ध्वनिभन्दा पनि २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू जडान गरेको छ ।

त्यहाँको रक्षा मन्त्रालयले जनाएअनुसार ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज हुने र त्यसलाई भेद गर्न असम्भव हुनेछ ।

तर, रूसले ती क्षेप्यास्त्रहरू कहाँ जडान गरेको छ भन्नेबारे भने केही स्रोत खुलाएको छैन । यसअघि नै ति पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने स्रोत त्यहाँका अधिकारीहरूले दिएका थिए ।

रूसी रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताउँदै सो घटनालाई महत्वपूर्ण भएको दाबी गरेका छन् ।

यसैगरी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पु¥याएको बताएका छन् ।

पुटिनले मंगलवार अभानगार्ड प्रणालीले अहिले भएका सबैखाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूलाई भेदन गर्न सक्ने बताएका थिए । उनले भनेका थिए, ‘अन्य कुनैपनि देशसँग यति छिटो उड्ने हतियार छैनन, क्षेप्यास्त्रको कुरै छाडौँ ।’

पुटिनले अभानगार्डलाई सन् २०१८ को मार्च महिनामा सार्वजनिक गरेका थिए । सन् २०१८ को डिसेम्बरमा सो क्षेप्यास्त्रले परीक्षणमा ६ हजार किलोमिटर परको लक्ष्यलाई प्रहार गरेको थियो ।

अन्तरमहादेशीय क्षेप्यास्त्रको टुप्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।

रूसको यो दाबीमाथि तत्काल केही नबोल्ने अमेरिकी रक्षा मन्त्रालयले बताएको छ । हाल हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रम अमेरिका र सन् २०१४ मा परीक्षण गरेको चीनको दाबी छ ।

 

(न्यूज 24 नेपाल डट कममा समाचार प्रकाशित छ)