पोखरामा हाप्कीडो सेमिनार सुरु

सेमिनारमा ६ सय खेलाडीको सहभागिता छ, उद्घाटन समारोहमा विशिष्ट ग्राण्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्राण्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका ग्राण्ड मास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरो समेत उपस्थित थिए

जनसम्मत
माघ १२, २०७६, आइतबार

पोखरा । नेपाल मार्सल आर्ट्स हाप्कीडो एशोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार शनीबार सुरु भएको छ ।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पोेखरा रंगशालास्थित कभर्डहलमा शनिबार सेमिनारको उद्घाटन गरेकी हुन् ।

सो अवसरमा विशिष्ट ग्राण्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्राण्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका ग्राण्ड मास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरो समेत उद्घाटन समारोहमा उपस्थित थिए । चार जना विशिष्टसँगै सिनियर मास्टर नेपालका कालीबहादुर घर्तीमगरले प्रशिक्षण दिनेछन् ।

सेमिनारमा ६ सय खेलाडीको सहभागिता छ । गण्डकी मार्सल आर्ट्स हाप्कीडो एशोसिएसन र कास्की मार्सल आर्ट्स हाप्कीडो एशोसिएसनको सहयोगमा आयोजित सेमिनार आइतबारसम्म चल्नेछ ।

उद्घाटन समारोहमा कास्की, भक्तपुर, बौद्ध, काठमाडौं मुलपानी र नेपाल आर्मीका हाप्कीडो खेलाडीले मार्सल आर्ट्स तथा सेल्फ डिफेन्स सम्बन्धी डेमोन्स्ट्रेसन गरेका थिए ।

समारोहमा गण्डकी प्रदेशसभा सदस्य मिना गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाल मार्सल आर्ट्स हाप्कीडो संघका सल्लाहकार नविन रोकामगर, संघका गण्डकी प्रदेश कमिटीका अध्यक्ष एमवी आस्था र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ लगायतले सेमिनारको सफलताको शुभकामना दिए ।

प्रमुख अतिथि मन्त्री पुनले गण्डकी प्रदेशमा यस स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना हुनु प्रदेशका लागि समेत गर्वको विषय भएको उल्लेख गरिन् ।

ग्रान्डमास्टर लीले नेपाली हाप्कीडोको विकास र विस्तारका लागि आफ्नो सधै सहयोग रहने वताए । सल्लाहकार मगरले सरकारले गर्नुपर्ने काम हाप्कीडो संघले गरेको प्रतिक्रिया व्यक्त गरे । आयोजक कमिटीका अध्यक्ष काली बहादुर घर्ती मगरले आगामी दिनमा अझ माथिल्लो फड्को मार्ने विश्वास व्यक्त गरे ।