पोखरामा फरक फरक खानाका ६ रेष्टुरेण्ट खुलाउने रेवानको निर्णय

कोरोना भाइरस (कोभिड–१९) को असरका कारण सिर्जित लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका छिटफुट पर्यटक समस्यामा परेका छन्

जनसम्मत
चैत्र १३, २०७६, बिहीवार

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न ६ रेष्टुरेण्ट खुलाउने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को असरका कारण सिर्जित लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका छिटफुट पर्यटक समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीसँगको छलफलपछि ति रेष्टुरेण्टहरु खुलाइने निर्णय भएको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिएका छन् ।

अम्मटस्थित माउण्ट कैलाश रिसोर्ट, बाराहीचोकमा रहेको मुनडान्स रेष्टुरेण्ट, गौरिघाटको होटल ग्लासिएर, सेन्टर प्वाइन्टको सम्राट तन्दुरी, अम्मटस्थित ग्रेट वाल रेष्टुरेण्ट तथा विरौटास्थित ड्याडिज किचनबाट पर्यटकलाई सेवा दिइने भुजेलले बताए ।

ग्रेटवालले चाइनिज खाना, सम्राट तन्दुरीले इण्डियन तथा बाँकी रेष्टुरेण्टहरुमा सबैखाले खानाका परिकार पाइनेछ । यि रेष्टुरेण्टहरुले कोरोना संक्रमणबाट जोगिने गरी मास्क, स्यानिटाइजर तथा अन्य सतर्कता अपनाउँदै ग्राहकहरुलाई सेवा दिने रेवान पोखराले जनाएको छ ।