पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन ‘ईच्छुक’को पोखरामा १८ औं स्मृति दिवस मनाइयो

विसं २०५९ जेठ १३ गते तत्कालीन राज्यसत्ताले ईच्छुकलाई नियन्त्रणमा लिएर चरम यातना दिएपछि महेन्द्र पुलिस क्लबको हिरासतमा उनको हत्या गरेको थियो

जनसम्मत
जेठ १३, २०७७, मंगलवार

पोखरा । पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन (ईच्छुक)लाई मंगलबार पोखरामा स्मरण गरिएको छ ।

प्रेस संगठन नेपाल कास्कीले ईच्छुकको १८ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम आयोजना गरी सहिद ईच्छुकप्रति श्रद्धासुमन अर्पण गरेको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले ईच्छुकले जहिलेपनि जनपक्षिय पत्रकारितामा आफूलाई समर्पित गरेकाले अहिलेको अवस्थामा समेत जनउत्तरदायी र जनपक्षीय पत्रकारिताको खाँचो औँल्याए ।

नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले सहिद ईच्छुकले जनपक्षीय पत्रकारितामार्फत राजनीतिक तथा सामाजिक परिर्वतनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेको चर्चा गरे । सञ्चारकर्मीहरुले उहाँको आदर्श र व्यक्तित्वको जहिलेपनि अनुसरण गर्नुपर्नेमा पौडेलले जोड दिए ।

राजनीतिक परिर्वतन भएर संघीयता कार्यान्वयनको अहिलेको अवस्थामा समेत जनपक्षीय पत्रकारिताको खाँचो रहेको उनले औंल्याए ।अध्यक्ष पौडेलले प्रगतिवादी साहित्वका माध्यमबाट समेत ईच्छुकले समाज रुपान्तरणमा योगदान गरेको उल्लेख गरे । विगतमा परिर्वतनका लागि भएका हरेक आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरुको योगदानलाई सरकार तथा पार्टीले कदर गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले सेनका लेख तथा विचारहरु अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको बताए । सहिदले देखेका सपनाहरु पूरा गर्न पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य दिलिपविक्रम शाही, संगठनका जिल्ला संयोजक माधव बराल, सह–संयोजक सन्देश श्रेष्ठलगायतले सेनको व्यक्तित्वबारे चर्चा गरे ।

ईच्छुक स्मृति दिवसमा प्रेस संगठनले हरेक वर्ष वितरण गर्दै आएको थमन–महेश स्मृति पत्रकारिता पुरस्कार यस वर्ष कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाले वितरण गर्न नसकिएकाले छिट्टै वितरण गरिने संयोजक बरालले जानकारी दिए । सो पुरस्कारका लागि मंगलबार प्रतिभा छनोट समिति गठन गरिएको छ ।

सो समितिमा अग्रज पत्रकार कोमलनाथ बराल, पुण्य पौडेल, महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल तथा संगठनका संयोजक र सह–संयोजक सदस्य छन् ।

विसं २०५९ जेठ १३ गते तत्कालीन राज्यसत्ताले ईच्छुकलाई नियन्त्रणमा लिएर चरम यातना दिएपछि महेन्द्र पुलिस क्लबको हिरासतमा उनको हत्या गरेको थियो ।