स्याङ्जामा थप ८ जनामा कोरोना संक्रमित देखिएसँगै गण्डकी प्रदेशमा थपिए १७ नयाँ संक्रमित, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो

स्याङ्जाका १०, बाग्लुङका १, कास्कीका ३ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३ जनामा संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ

जनसम्मत
जेठ २४, २०७७, शनिबार

पोखरा । स्याङ्जामा थप ८ जनामा कोरोना देखिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले शनिबार बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार १७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

स्याङ्जाका १०, बाग्लुङका १, कास्कीका ३ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३ जनामा संक्रमण पुष्टि भएको डाक्टर विनोदविन्दु शर्माले जानकारी दिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनामा नयाँ संक्रमण देखिएको हो । स्याङ्जाको वालिङ नगरपालिकाका ८ जनामा संक्रमण देखिएको छ । उनीहरु १६ वर्ष उमेरदेखि ५४ वर्ष उमेर समूहका छन् । त्यसैगरी, हरिनास गाउँपालिकाका २ जनामा संक्रमण देखिएको छ । उनीहरु १८ र ४० वर्षका छन् ।

वागलुङको ताराखोला गाउँपालिकाका ३९ वर्षीयमा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै, कास्कीको रुपा गाउँपालिकामा २ जनामा संक्रमण देखिएको छ । उनीहरु २३ र ३२ वर्षका हुन् । पोखरा महानगरपालिकाका ५९ वर्षीयमा पनि कोरोना देखिएको हो ।

भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकाका ३ जनामा संक्रमण देखियो । उनीहरु १८ देखि २७ वर्ष उमेरका छन् । गण्डकी प्रदेशमा भेटिएका सबै संक्रमित पुरुषहरुमात्र छन् ।