नेपालको ७१ जिल्लामा फैलियो कोरोना संक्रमण, अब कोरोनासम्बन्धी मिडिया ब्रिफिङका लागि डा. जागेश्वर गौतम

सोमबारदेखि कोरोनाबारे मिडिया व्रिफिङका लागि प्रसूति गृहका पूर्वनिर्देशक डा. जागेश्वर गौतमले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन्

जनसम्मत
जेठ २६, २०७७, सोमबार

पोखरा । नेपालको ७१ जिल्लामा कोरोना (कोभिड–१९) को संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टमा उल्लेख छ ।

मन्त्रालयको रिपोर्टअनुसार ७७ जिल्लामा आइतबारसम्म ७१ जिल्लाका नेपाली कोरोनाको संक्रमणमा परिसकेका छन् ।

विश्वव्यपापीरूपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा कोरोना संक्रमितको संख्या २ सय १३ जना थपिएको छ । कोरोना संक्रमित कुल संख्या ३ हजार ४ सय ४८ पुगिसकेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्यामध्ये ३ हजार २ सय १२ जना छन् । संक्रमितमध्ये २ सय ३६ जना महिला छन् । आइतबार थपिएका २ सय १३ जनामा २ सय ९ जना पुरुष र ४ जना महिला छन् ।

आइतबारसम्म क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराए । डा. देवकोटाले आइसोलेसन र विभिन्न अस्पतालमा गरी २ हजार ९ सय ६८ जनाको उपचार भइरहेको पनि जानकारी गराए । संक्रमितमध्ये कोरोनालाई जितेर आइतबार १ सय २ जना डिस्चार्ज भएका छन् । जसमा १ सय पुरुष र २ महिला छन् ।

हालसम्म १ लाख ४५ हजार ४९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले जानकारी गराए । आम नागरिक र बिज्ञहरूको तर्फबाट सरकारको कामप्रति प्रश्न उठाएपछि नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले मन्त्रालयका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि, नेपाल चिकित्सक संघका प्रतिनिधि र निजी अस्पतालका तर्फबाट समेत प्रतिनिधि रहने गरी आइतबार समिति गठन गरेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी गराए ।

डा. देवकोटाले ७६ दिन लगातार कोरोना संक्रमणबारे अनवरत् रूपमा सूचना दिँदै आएका थिए । लामो समय संचारमाध्यममा छाएका डा. देवकोटाको जिम्मेवारी परिवर्तन भएको जानकारी गराउँदै सोमबारदेखि मिडिया व्रिफिङका साथै प्रवक्ताको जिम्मेवारी प्रसूति गृहका पूर्वनिर्देशक डा. जागेश्वर गौतमले सम्हालेको डा. देवकोटाले जानकारी गराए ।