लकडाउन अवधिभर नेपालमा २ सय ३४ अन्तर्राष्ट्रिय उडान

यी उडानबाट ११ हजार २८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् । त्यस्तै नेपालबाट १३ हजार १०३ यात्रु तथा २५६ बच्चा बाहिरिएका छन् । यो अवधिमा विभिन्न मुलुकबाट ४ लाख ९२ कार्गो नेपाल आएको छ । नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको जनाइएको छ

जनसम्मत
असार १३, २०७७, शनिबार

पोखरा । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् ।

बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत–जावत भएको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् ।

विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टर्ड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् ।

यी उडानबाट ११ हजार २८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् । त्यस्तै नेपालबाट १३ हजार १०३ यात्रु तथा २५६ बच्चा बाहिरिएका छन् । यो अवधिमा विभिन्न मुलुकबाट ४ लाख ९२ कार्गो नेपाल आएको छ । नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको जनाइएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मात्रै कार्गो चार्टर्ड र यात्रु चार्टर्ड गरी ५१ उडान गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमको २८ चार्टर्ड तथा सरकारको समन्यवमा विभिन्न मुलुकबाट नेपाली फर्काउन मात्रै २३ उडान भएका छन् । यो आजसम्मको पूर्वनिर्धारित उडान हो ।

जुलाई महिनामा चार्टर्ड उडानको पुनःनयाँ उडान तालिका आउने निगमले उल्लेख गरेको छ । निगमपछि हिमालय एयरलाइन्सले धेरै अन्तर्राष्ट्रिय उडान गरेको छ । अन्तर्राष्ट्रिय एयरलाइन्समा कतार एयरवेजले सर्वाधिक उडान गरेको छ । जजीरा, टर्किस, एयर अरेबिया, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गरेका छन् ।

बन्दाबन्दीको असाधारण परिस्थितिमा निगमले एकैदिन आठ अन्तर्राष्ट्रिय उडान गरेको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी लागू गरेको ३ महिनाको अवधिमा नेपाली एयरलाइन्सको तर्फबाट यो सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडान हो । निगमले कोभिडको त्रासमाझ शुक्रबार (जुन २६ तारिख) मात्रै ८ अन्तरराष्ट्रिय उडान गरेको जनाएको छ ।

निगमको अपरेसन विभागका अनुसार निगमका २ वाइड बडी र २ न्यारो बडी जहाजले बन्दाबन्दीको अवधिमा शुक्रबार सबैभन्दा धेरै ८ उडान गरेका छन् । निगमको न्यारो बडी एयरबस ए ३२० जहाजले बहराइनमा २, हङकङ २ र मलेसियाको क्वालालम्पुरमा १ उडान गरेको छ । त्यस्तै वाइड बडी ए ३३० जहाजले क्वालालम्पुरमा २ र साउदी अरेबियाको रियादमा १ उडान गरेको छ ।

असारमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निरन्तर अन्तरराष्ट्रिय उडान भइरहेको छ । असारको पहिलो सातादेखि दैनिक १० देखि १६ अन्तर्राष्ट्रिय उडान भएको छ । शुक्रबारमात्रै १६ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । असार महिनाको शुरुदेखिनै विभिन्न मुलुकबाट अलपत्र नेपाली धमाधम चार्टर्ड उडान मार्फत स्वदेश फर्किरहेका छन् ।

बन्दाबन्दीमा गत चैत १९ निगमले सबैभन्दा लामो गन्तब्य अष्ट्रेलियाको ब्रिश्बेन र वैशाख २४ गते सिड्नीमा चार्टर्ड उडान गरेको थियो । पछिल्लो पटक निगमको वाइड बडी जहाजले जेठ २६ मा अष्ट्रेलियाको राजधानी क्यानबेरामा चार्टर्ड उडान गरेको थियो ।

मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै करिब १२ देखि १३ घण्टाको उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । अहिले विदेशमा अलपत्र नेपाली ल्याउने क्रममा निगमको वाइड बडी जहाजले केही दिनअघि सिड्नी र शनिबार क्यानबेराबाट नेपाली ल्याएको छ ।

गत चैत १० देखि नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै एयरलाइन्सको उडान स्थगन गरिएको छ । आन्तरिकतर्फ पनि उडान हाललाई स्थगित छ । पछिल्लो पटक असारको अन्तिम सातासम्म उडान प्रतिबन्ध कायम गरिएको छ ।

अहिले कुटनीतिक माध्यमबाट मात्रै चार्टर्ड उडान हुन्छ । पछिल्लो पटक सरकारले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेको छ । चैत ११ देखि जेठ ३२ सम्म सरकारले देशभर लकडाउन गरेको थियो ।

असार १ देखि बन्दाबन्दी केही खुकुलो बनाइएको छ । अत्यावश्यक कार्यालय, उद्योग, कलकारखाना तथा बजार मात्र खुकुलो बनाइएको छ । यस्तो व्यवस्था असार २१ सम्मका लागि हो । त्यसपछि परिस्थिति हेरेर निर्णय हुने जनाइएको छ ।

रिपोर्टर्स नेपाल डट कममा समाचार छ ।