कास्कीमा थप ५ दिनका लागि निषेधाज्ञा लम्ब्याइयो

समितिको बैठकले आवश्यक कर्मचारीसहितको सरकारी कार्यालय, बैक र अत्यावश्यक र निर्माण सामग्रीका पसलहरु खोल्न अनुमति दिइएको छ

जनसम्मत
भाद्र ७, २०७७, आइतबार

पोखरा । कास्कीमा जारी निषेधाज्ञा थप ५ दिन लम्ब्याइएको छ ।

पोखरालगायत जिल्लाको अन्य स्थानमा कोरोनाको जोखिम बढ्ने संभावना बढेसँगै कास्की जिल्ला प्रशासनले थप ५ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेपछि पहिलो पटक भदौको ३ गते राती १२ बजेबाट लागु गरिएको निषेधाज्ञाको समय अब १२ गते राती १२ बजेसम्म कायम रहनेछ ।

यसअघि, पोखरा महानगरपालिकाले निषेधाज्ञाको समय भदौ १२ गते सम्म थप गर्ने निर्णय गरेको थियो । निषेधाज्ञा अवधिको विश्लेषण गर्दै आइतबार बिहान बसेको कोरोना रोकथाम मूल समितिको बैठकले भदौ १२ गते सम्म निषेधाज्ञा थप गर्ने जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो ।

पोखरामा कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै जोखिमलाई कम गर्न निषेधाज्ञा थप गर्ने बैठकले निर्णय गरेको बैठकमा सहभागीहरुले बताएका छन् । उनीहरुका अनुसार निषेधाज्ञा १२ गतेपछि विस्तारै खुकुल्लो गर्दै लैजाने तयारी रहेको छ ।

पोखरा महानगरपालिकाले सिफारिस गरेको पत्र जिल्ला प्रशासन कार्यालय कास्की पुगेपछि जिल्ला संकट व्यवस्थपान समिति कास्कीले निषेधाज्ञाको निर्णय गरेको थियो ।

समितिको बैठकले आवश्यक कर्मचारीसहितको सरकारी कार्यालय, बैक र अत्यावश्यक र निर्माण सामग्रीका पसलहरु खोल्न अनुमति दिइएको छ ।

कास्कीमा कोरोना संक्रमितको दर बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार कास्कीमा संक्रमितको संख्या २८५ जना पुगेको छ ।