काठमाण्डौं उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको आग्रह

करीब ४० लाख बसोबास गर्ने काठमाडौं उपत्यकामा यदि संक्रमण अनियन्त्रित भयो अवस्था विकराल हुनेछ

जनसम्मत
असाेज २१, २०७७, बुधबार

पोखरा । नेपाल सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको बताएको छ ।

सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल समेत गरेको छ ।

गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले मुलुकको अन्य भू–भागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै गएपनि काठमाडौं उपत्यकामा कोरोनाको उच्च जोखिम कायम रहेको पनि उल्लेख गरे ।

उनले अहिलेसम्म उपत्यकामा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको भन्दै काठमाडौंसीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने देखिएको प्रष्ट पारे । उनले करीब ४० लाख बसोबास गर्ने उपत्यकामा यदि संक्रमण अनियन्त्रित भयो अवस्था विकराल हुने पनि उल्लेख गरे ।

तस्बीर साभार : अभियान डेली डट कम

मन्त्री ज्ञवालीले काठमाडौँवासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय संचालन गर्दा वा सहयोग पु¥याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन समेत आग्रह गरे ।

उनले आग्रह गरेका छन्, ‘मुलुकभर कोरोना संक्रमण घट्दै छ तर काठमाडौं उपत्यकाको अवस्था भने अझै पनि उच्च जोखिममा छ । यो कुरालाई ध्यानमा राख्न सरकारकोतर्फबाट विशेष आग्रह गर्दछु ।’

नेपालीको सबैभन्दा ठूलो चाड वडादशैं नजिकिँदै गरेको अवस्थामा कोरोनाको थप जोखिम बढ्नसक्ने भन्दै उनले भने, ‘दशैंको महत्वपूर्ण पक्ष भनेको पारिवारिक पुनर्मिलन र अग्रजबाट शुभाशिष लिने हो, तर यस्तो अवस्थामा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । त्यसो हुनाले दशैँं मनाउँदा आफ्ना अभिभावकको सुरक्षा संवेदशनीलतालाई असाध्यै ध्यानमा राख्न जरुरी छ ।’

 

तस्बीर साभार : आजको अर्थ डट कम