पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २२ जनाले ज्यान गुमायो, थप २ हजार ७१ जनामा संक्रमण पुष्टि, १ हजार ५ सय ५२ जना संक्रमणमुक्त

नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ, स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्लामा हालको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित छैनन्

जनसम्मत
असाेज २५, २०७७, आइतबार

पोखरा । पछिल्लो २४ घन्टामा थप २२ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन्।

देशका विभिन्न स्थानमा पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो। स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ जना पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ४२७ नमूनाको आरटी पीसीआर परीक्षणका क्रममा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा १ हजार १ सय ४५, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।

त्यसैगरी, नेपालमा बितेको २४ घण्टामा थप १ हजार ५ सय ५२ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ। यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको मन्त्रालयले जनाएको छ। तिमध्ये होम आइसोलेसनमा १७ हजार ६ सय ६६ जना र संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना छन्। तिमध्ये ३ सय २९ जना संक्रमितको आइसीयु र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हाल, देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ४ हजार ६ सय १३ जना रहेका छन्।

यस्तैै, काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन र सुर्खेत गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

हिजो (शनिवार) नेपालमा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै, शनिबार संक्रमणमुक्त हुनेको संख्या १ हजार २ सय २९ जना थियो । कोरोना भाइरस संक्रमणका कारण शनिबार १४ जनाको मृत्यु भएको थियो।

 

तस्बीर साभार : जनता समाचार डट कम