शपथ लिएसँगै नयाँ मन्त्रीहरुले गरे पदभार ग्रहण ( सूचना लुकाएर बस्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री गुरुङ )

प्रधानमन्त्री ओलीले बुधबार मात्र मन्त्रिमन्डल पुनगर्ठन गरेका थिए। ओलीको सिफारिशमा बुधबार राष्ट्रपति भण्डारीले उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन्

जनसम्मत
असाेज २९, २०७७, बिहीवार

पोखरा । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा हिजो नियुक्त तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

अर्थमन्त्री विष्णु पौडेल, संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले शपथ लिएका हुन्।

बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई शपथ खुवाइन्।

प्रधानमन्त्री ओलीले बुधबार मात्र मन्त्रिमन्डल पुनगर्ठन गरेका थिए। ओलीको सिफारिशमा बुधबार राष्ट्रपति भण्डारीले उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि नवनियुक्त मन्त्रीहरु बिष्णु पौडेल र संचार तथा सूचना, प्रविधिमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै संचारमन्त्री गुरुङले विहीबार अपरान्ह सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।

 

सूचना लुकाएर बस्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री गुरुङ

 

नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गरिने बताएका छन्।

उनले सबै मन्त्रालयहरूको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने उल्लेख गरे।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने, ‘कुनैपनि गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाइनेछ । कुनैपनि मन्त्रालयमा गलत कुराहरू छन भनेपनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनका लागि मन्त्रालयले आफ्नो काम गर्नेछ।

यस्तै मन्त्री गुरुङले आफूलाई संचार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताए। कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफूले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिवद्धता समेत मन्त्री गुरुङले व्यक्त गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनरगठन गरेपछि महिला तथा समाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिमेवारी पाएका हुन्।