बाबुराम भट्टराई सोध्छन्, ‘शोख शान सबै राजा–रानीको जस्तो चाहिने, नाउँ चाहिँ किन कम्युनिष्ट हँ ?’

‘जुन गोरूको सिंग छैन, उसको नाउँ तिखे’

जनसम्मत
कार्तिक २७, २०७७, बिहीवार

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीप्रति कडा प्रतिक्रिया दिएका छन्।

डा. भट्टराईको प्रतिक्रिया यस्तो छ, ‘शोक शान सबै चाहिने व्यक्ति कम्युनिष्ट हुन सक्दैन।’

प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली संखुवासभाको किमाथाङ्काको भ्रमणमा जाँदा प्रधानमन्त्री सरकारी निवास बालुवाटारबाटै हेलिकोप्टरमार्फत् उडेको विषयमा अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

बिहीबार (आज) आफ्नो आधिकारिक तथा प्रमाणित ट्वीटर ह्याण्डलमार्फत् यस्तो प्रतिक्रिया दिएका अध्यक्ष भट्टराईले थप लेखेका छन्, ‘शोख र शान सबै राजा–रानीको जस्तो चाहिने, नाउँ चाहिँ किन (कम्युनिष्ट) राख्नुपर्ने रहेछ हँ ? जुन गोरूको सिंग छैन, उसको नाउँ तिखे ।’

यसअघि प्रधानमन्त्री हिजो मात्रै संखुवासभाको भ्रमण गरेर बेलुका काठमाडौं फर्किएका थिए। संखुवासभा पुगेर समग्र विकास निर्माणको अवलोकन गरेका प्रधानमन्त्रीले फरक प्रसङ्गमा कसैले चाहँदैमा वा भन्दैमा नेकपा नफुट्ने बताएका थिए।

केही दिनदेखि आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तनाव सिर्जना भएपछि संखुवासभा पुगेर त्यस्ता प्रतिक्रिया दिएका ओलीले अन्ततः नेकपा सचिवालय बैठक बोलाएका छन्।

बैठक भोली (शुक्रबार) अपराह्न ४ बजेका लागि बालुवाटार बोलाइएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिएका छन्।

अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई नेकपा सचिवालय बैठक बोलाउन दबाब दिइरहेका थिए।