अल विदा ! महान अर्जेन्टिनी फुटबलर म्याराडोना

६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो

जनसम्मत
मंसिर ११, २०७७, बिहीवार

महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको समाचार छ ।

अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो।
दुई साताअघि मात्रै अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा भर्ना भएका म्याराडोनाको एक साता अघि मंगलबार मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो।
६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो।
सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए। अघिल्लो महिना मात्र ६० औं जन्मदिन मनाएका उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए।
अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए।
उक्त खेलमा उनले आफूलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए।
यसअघि, म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा बसेका थिए।
उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए।
म्याराडोनाले ६० औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए।
म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए।