गण्डकी प्रदेश सरकारले सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट छुट्टायो

जनसम्मत
श्रावण ३, २०७८, आइतबार

गण्डकी प्रदेश सरकारले पोखरा बाटुलेचौरका संगीतकार सुन्दर थापाको स्मृतिमा गठन गरिने सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट विनियोजन गरेको छ।

चाँडै नै गठन हुन गइरहेको थापाको स्मृति प्रतिष्ठानका लागि प्रदेश सरकारले बजेट छुट्टाएको हो।

अब चाँडै प्रतिष्ठान गठन गरेर गीत÷संगीतको क्षेत्रमा काम गर्नका लागि बजेट विनियोजन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं विज्ञान, प्रविधि तथा सामाजिक विकास विकासमन्त्री कुमार खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले पहिलो वर्ष भएकाले बजेट कम भएको उल्लेख गर्दै फेसवुकमा लेखेकाछन्, ‘एउटा प्रतिष्ठान गठन र संचालनका लागि यो रकम अत्यन्त कम भएतापनि एउटा शुभ यात्राका निम्ति बिउ पुँजी हुनसक्छ ।’

पोखरा बाटुलेचौर निवासी संगीतकार थापाको केहि वर्ष अघि निधन भएको थियो ।