एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएको सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका छन्, विपक्षी गठवन्धनको सरकारलाई एमालेका २२ जना सांसदले मतदान गरेका छन्। त्यसको भोलिपल्ट मात्र ओलीले एमाले जेठ २ मा फर्केको घोषणा गरेका छन्। जसले यो माग गरेको थियो त्यो मसूह भने ओली अध्यक्ष रहेको एमालेमा फर्कन नसक्ने अवस्थामा पुगेको छ

जनसम्मत
श्रावण ५, २०७८, मंगलवार

 

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ।

सोमबारदेखि सुरु भएको १० औं बैठक आज पनि बस्ने भएको हो।

बैठक दिउँसो ३ बजे तुलसीलाल प्रतिष्ठानमा बस्ने छ। सोमबारको बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आज यस विषयमा थप छलफल हुने बताइएको छ।

यसअघि, १४ औं केन्द्रीय कमिटी बैठक बस्ने बताए पनि विवाद समाधान गर्न गठन भएको कार्यदलले गरेको सहमति अनुसार एमालेले २०७५ जेठ २ को अवस्थामा रहेको कमिटीकै आधारमा यो बैठक बोलाएको हो।

नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएको सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका छन्। जब कि, यसअघि धेरै पटक माधव नेपाल समूहले पार्टी जेठ २ मा फर्किनुपर्ने र पार्टीको दशौं केन्द्रीय कमिटीको बैठक हुनुपर्ने माग गर्दै आएका थिए। तर, अध्यक्ष ओलीले यस्तो बेला पार्टी जेठ २ मा फर्केको घोषणा गरे जतिबेला एमाले सत्ता च्युत भइसकेको छ।

विपक्षी गठवन्धनको सरकारलाई एमालेका २२ जना सांसदले मतदान गरेका छन्। त्यसको भोलिपल्ट मात्र ओलीले एमाले जेठ २ मा फर्केको घोषणा गरेका छन्। जसले यो माग गरेको थियो त्यो मसूह भने ओली अध्यक्ष रहेको एमालेमा फर्कन नसक्ने अवस्थामा पुगेको छ।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका ९ वटा बैठक माओवादी केन्द्रसँगको एकताअघि २०७५ जेठ ३ सम्ममा बसेका थिए। तर, नेकपा एकता बदर भई गत फागुन २३ गते साविक पार्टीहरू ब्युँतिएपछि बसेको एमालेका ४ वटा बैठकलाई विशेष बैठक रहेको बताउँदै आएको छ।