विचारमा अडिग योद्धा हुँ, मैदान छाडेर भाग्ने कुरा हुँदैन : माधव नेपाल

मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्छ

जनसम्मत
श्रावण १६, २०७८, शनिबार

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने बताएका छन्।

शनिबार काठमाडौँमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै आफूहरू मैदान छोडेर नभाग्ने बताएका हुन्।

उनले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने उल्लेख गरे । नेता नेपालले आफूले विचारहीन र सिद्धान्तहीन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको जिकिर गरे।

नेपालले संविधानलाई कुल्चिने काम गर्नेविरुद्ध आफूहरु चुप लागेर नबस्ने बताए । सर्वोच्च अदालतले गलत काम सच्याइ दिएको स्मरण गर्दै उनले कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुने सुझाव दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले अहंकारले मान्छेलाई पतनको बाटोमा डोहोर्‍याउने बताए। उनले अब नेपालमा राजतन्त्र फर्काउने दिवा स्वप्त नदेख्न चेतावनी पनि दिए।

कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष ओलीले पद त्याग नगरेसम्म एमाले एकता हुन नसक्ने बताइन्। भेला अघि अखिल फोर्सले काठमाडौँमा बृहत मोटरसाइकल र्‍याली निकालेको थियो।

खबर हबमा समाचार छ।