सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो

आज ४ बजे सार्वजनिक गरिने

जनसम्मत
श्रावण २४, २०७८, आइतबार

सत्तारुढ गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक सहभागी बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो।

बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि आजै अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ।

सत्तारुढ गठबन्धन गठन गरेको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम आजै शीर्ष नेतासमक्ष पेश गरिएको थियो ।

सार्वजनिक गर्नुअघि शीर्ष नेताबाट सरकारको साझा कार्यक्रमलाई अन्तिम रुप दिइएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

कार्यदलले गत शुक्रबार प्रधानमन्त्री देउवालगायत शीर्ष नेतृत्वलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ।

प्रतिवेदनमा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रियहितको सम्वद्र्धन, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालिक राहत पुनःनिर्माण तथा पुनःस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलगायतलाई प्राथमिकता दिइएको छ ।सरकारको प्रमुख प्राथमिकतामा रहेको कोरोना रोकथाम र नियन्त्रणका विषयलाई प्रतिवेदनमा मुख्यरूपमा समेटिएको छ । गठबन्धनलाई कसरी दिगो बनाउने भन्ने विषय पनि प्रतिवेदनमा समावेश गरिएको छ।

वर्तमान सरकारमा मन्त्रीले पालना गर्नुपर्ने आचारसंहितालाई समेत प्रतिवेदनमा समावेश गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले उक्त प्रतिवेदन तयार पारेको हो।