‘राष्ट्रियताको सवालमा राप्रपासँग विचार मिल्छ’ – प्रचण्ड

नेकपा (माले)का महासचिव सीपी मैनालीप्रति कडा टिप्पणी गर्दै प्रचण्डले सोधे, ‘सीपीजी, राप्रपा अध्यक्ष बन्न लाग्नुभएको हो ? त्यसो हो भने बधाई।’

जनसम्मत
मंसिर १५, २०७८, बुधबार

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको सवालमा राप्रपासँग विचार मिल्ने बताएका छन्।

बुधवार काठमाडौंमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिदैँ प्रचण्डले राप्रपासँग आफ्नो विचार र मत नमिल्ने तर, राष्ट्रियताको भाषा मिल्ने भएकाले गोत्र चाहिँ मिल्ने भन्न सकिने प्रचण्डले बताए ।

‘म गणतन्त्रवादी, धर्मनिरपेक्षतावादी हुँ तर, तपाईंहरूजस्तै राष्ट्रवादी चाहिँ हो।’ प्रचण्डले भने ।

प्रचण्डले नेकपा (माले)का महासचिव सीपी मैनालीप्रति कडा टिप्पणी समेत गरे। मैनालीलाई ‘राप्रपा अध्यक्ष बन्न लाग्नुभएको हो ?’ भन्दै प्रचण्डले प्रश्न गरे

उनले ‘सीपी मैनाली हिजो राजतन्त्र सिध्याउन लागिपरेको मान्छे आज राजाको जयजयकार गर्दै हिँडेको’ भनेका थिए ।

‘म त त्यति सजिलै भन्न सक्दिनँ । सीपीले सजिलै भनिदिनुभयो,’ प्रचण्डले भने, ‘राजतन्त्र सिध्याउन, ‘टाउको काट्ने’ शुरूआत उहाँहरूले नै गर्नुभएको हो। सीपीजी राप्रपा अध्यक्ष बन्न लाग्नुभयो कि जस्तो लाग्यो, त्यसो हो भने बधाई छ।’

प्रचण्डभन्दा अगाडि बोलेका सीपीले राजा महेन्द्रलाई एक मात्र राष्ट्रवादी नेता भएको भन्दै प्रशंसा गरेका थिए। सीपीले प्रचण्डलाई आन्दोलनको नाममा विदेशी शक्तिलाई स्वागत गरेको आरोप लगाएका थिए।