११ औँ पोखरा महोत्सवको तयारी तीब्र

जनसम्मत
पौष ५, २०७८, सोमबार

११ औँ संस्करणको पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ।

महोत्सव आयोजक युनाइटेड क्लवले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २८ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको तयारी तीब्र परिएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा वोल्दै पोखरा महोत्सव मूल आयोजक समारोहका संयोजक तथा युनाइटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको वताए।

अध्यक्ष श्रेष्ठका अनुुसार १२ दिनसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन भने महोत्सव तयारीका लागि गठन गरिएको ४१ वटा उपसमितिहरुले आफ्नो कामलाई तीब्र रुपमा अगाडि वढाएको छ। स्थापनाकालदेखि पोखराको अमरसिंह चौरमा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि वढ्दै आएको युनाइटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आएको छ।

महोत्सवमा २४७ स्टलहरु रहने र २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी तथा झाँकी प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी, व्यवसायीक संघ सस्थाहरुको सेवाबारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण गर्ने क्लबले जनाएको छ।

क्लबका अनुसार पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती लगायतका गतिविधी हुनेछनभने महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, हाँस्यब्यंग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेनागृहको ब्यवस्था, बालउद्यान, झाँकी प्रस्तुतीको साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन्।

महोत्सवमा अपाङ्गता भएका, वृद्धवृद्धा, एकल महिला, पत्रकार, सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) निःशुल्क प्रवेश गराइने र पर्यटन प्रर्वद्धन, प्रर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराउनुका साथै कृषि तथा हस्तकलाका स्टलहरु विशेष छुटमा प्रदान गरिएको आयोजकले जनाएको छ।

महोत्सवमा सुरक्षाको उचित प्रबन्ध, शौचालयको उचित व्यवस्था, फ्री वाइफाइको ब्यवस्था, अग्नि, चट्याङ, भुकम्प, हुरीबतास, हुलदंगा बीमाको व्यवस्था, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको व्यवस्था, पार्किङको उचित व्यवस्था गर्ने आयोजकले जनाएको छ।

महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड शन्नी इन्डष्ट्रीज प्रा.लि. रहेको छन् भने महोत्सवको मुख्य प्रायोजक, उपप्रायोजक, प्रयोजकहरु, अफिसियल बैँक, अफिसियल पानी, अफिसियल इन्टरनेट वल्र्डलिंक कम्युनिकेशन प्रा.लि., विद्युतीय सुरक्षामा स्काइलिंक टेक्नोलोजी, अफिसियल होटल, अफिसियल इन्सुरेन्स, प्रवद्र्धक, विशेष सहयोगी संस्था, सहयोगी संस्थाहरु, मिडिया पार्टनरहरुको खोजी कार्य जारी रहेको आयोजकले जनाएको छ।