लगानी मैत्रीवातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा

जनसम्मत
पौष २५, २०७८, आइतबार

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आरकेडी होल्डिङ कम्पनीको ५ औं साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री थापाले व्यवसायीको लगानीलाई सुरक्षा गर्ने जिम्मेबारी सरकारको समेत रहेको उल्लेख गरे।

‘प्रदेशमा व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउन हामी प्रतिबद्ध छौं’, उनले भने, ‘व्यवसायी र लगानीकर्ताहरुको हित विपरितको ऐनहरुलाई परिमार्जन गर्दै नियमानुसार सहज र सरल बनाउने छौं।’

मन्त्री थापाले आरकेडी होल्डिङ कम्पनीले स्थानीय जनतालाई स्वरोजगारतर्फ केन्द्रीत गराइरहेको उल्लेख गरे। कम्पनीले मुनाफा कमाउने हेतुले मात्र नभई सामाजिक सेवा समेत प्रवाह गरिरहेको भनाई उनको थियो।

‘आरकेडी होल्डिङ कम्पनीले लगानीमात्र गरेको छैन। सामाजिक सेवा समेत प्रवाह गरिरहेको भान हुन्छ। आफू मात्रै कमाउने आफू मात्रै रमाउने नभई जनतालाई नै स्वरोजगार हुन सिकाउने बाटोमा आरकेडी लागेको देख्दा खुशी लागेको छ’, उनले भने।

मन्त्री थापाले व्यवसायी क्षेत्रबाट आफू राजनीतिमा आएको र व्यवसायीको पीर मर्कालाई नजिकबाट बुझेको बताउँदै जनताको हित बमोजिम नै व्यवसाय क्षेत्रको वृत्ति विकासका लागि सरल कानून निर्माणमा ध्यानदिने उल्लेख गर्नु।’
उनले गण्डकी प्रदेशमा पर्यटकको आकर्षण बढाउन थप लगानीको आवश्यकता रहेको बताए। प्रदेशमा सम्भावना भएका पर्यटकीय क्षेत्रको विकास र संरक्षणमा सरकारलाई सहयोग गर्न उनको आग्रह छ। सबै मिलेर नै प्रदेशको आर्थिक स्तरमा सुधार ल्याउन सकिने धारणा उनको छ।

मन्त्री थापाले व्यवसायीले लगानी गरेर मात्र नहुने र लगानी अनुसारको उत्पादनमा समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए।

‘व्यवसायीले लगानी गरेर मात्र हुँदैन। लगानी सही ठाउँमा छ वा छैन त्यसको ख्याल गर्नुपर्छ। उत्पादनमुखी क्षेत्रमा लगानी गर्दै त्यसको बजारीकरणमा समेत ध्यान दिएको खण्डमा स्वरोजगारलाई बढावा दिन सकिन्छ।’