प्रदेश मन्त्री थापाद्वारा १५ लाख तलब सबै सामाजिक काममा खर्च

‘राजनीति मेरा लागि सेवा हो। पेशाका रुपमा कदापी लिएको छैन। मेरो व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन। तसर्थ, राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दापनि निस्वार्थ रुपमा जनताको सेवा गर्नु मेरो मुल ध्येय हो र निर्वाचित भएदेखिनै त्यसैमा प्रतिबद्ध छु’

जनसम्मत
चैत्र १६, २०७८, बुधबार

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन्।

मन्त्री थापाले विकास निर्माण र सामाजिक कार्यमा १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ खर्च गरेका हुन्।

२०७७ साल माघ महिनादेखि २०७८ फागुन मसान्तसम्म बैंक खातामा १३ लाख ६६ हजार ३ सय ६० जम्मा भएको मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जानकारी दिएका छन्। उनले तलब भत्ता र सेवा सुविधाको रकममा व्यक्तिगत रकम थप गरी खर्च गरेका हुन्।

खर्च सार्वजनिक गर्दै मन्त्री थापाले राजनीति आफ्ना लागि सेवा भएको र यसलाई पेशाको रुपमा नलिएको बताए।

‘राजनीति मेरा लागि सेवा हो। पेशाका रुपमा कदापी लिएको छैन। मेरो व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन। तसर्थ, राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दापनि निस्वार्थ रुपमा जनताको सेवा गर्नु मेरो मुल ध्येय हो र निर्वाचित भएदेखिनै त्यसैमा प्रतिबद्ध छु’, उनले भनेका छन्।

मन्त्री थापाले आफु प्रदेश सांसद हुँदा होस् या अहिले मन्त्रीका रुपमा सेवा गरिरहँदा होस् प्रदेश सरकारबाट प्राप्त सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको र प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा समेत निलएको जानकारी गराए । उनले गण्डकी सरकार प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध रहेको समेत उल्लेख गरे।

कुन शीर्षकमा कति खर्च ?

मन्त्री थापाले पोखरा २१ निर्मलपोखरी स्थित चिलाउने खर्कदेखि सुरौदीसम्म ग्रामीण सडक मर्मतका लागि ४७ हजार सय रुपैयाँ सहयोग गरेका छन्। पोखरा ११ का महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी निशुल्क स्वास्थ्य शिविरका लागि उनले ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

नागरिक परोपकार समन्वय संस्था पोखरा ३२ मा एम्बुलेन्स खरिदका लागि ५५ हजार रुपैयाँ, सिंहनाथ टोल विकास संस्था मोहरियाको बाल गोपाल भवन निर्माणका ५१ हजार रुपैयाँ, पोखरा २० भलाममा प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त घर पुर्ननिर्माणका लागि स्थानीय गोपाल परियारलाई १७ हजार ७ सय ९७ रुपैयाँ सहयोग गरेको मन्त्रीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

मन्त्री थापाका अनुसार जनजागृती आधारभूत विद्यालय पोखरा ३३ मा युरोगार्ड र खानेपानी ट्याङकी खरिदका लागि ५३ हजार रुपैयाँ, पोखरा ८ र ९ का विभिन्न टोल स्थानमा सडक बत्ती (अटोमेटिक लाइट) खरिद र जडानका लागि १ लाख २४ हजार रुपैयाँ, पोखरा १६ स्थित नमूना युवा क्लब, नौधारे युवा क्लब, झुपराङकोट युवा क्लब गल्र्याङ र नवज्योती युवा क्लब कालीमुँडालाई खेलकुद सामाग्री सहयोग शिर्षकमा २८ हजार रुपैयाँ सहयोग गरिएको छ।

नयाँगाउँ प्रतिभा टोल विकास संस्था पोखरा २५ मा सामाजिक भवन निर्माणका लागि २५ हजार रुपैयाँ, पोखरा २४ स्थित लौरुक युवा क्लब, डाँडापारी युवा क्लब र बाँसकोट युवा क्लबलाई खेलकुद सामाग्री सहयोग शिर्षकमा १७ हजार रुपैयाँ, गन्दर्भ आमा समूह पोखरा १६ लाई भाँडाकुडा लगायतको सहयोग सामाग्री शिर्षकमा २८ हजार रुपैयाँ मन्त्री थापाले सहयोग गरेका छन्।

पोखरा २० घारी भलाममा खानेपानी पाइपका लागि ३३ हजार रुपैयाँ, अनुशासित आमा समूह पोखरा ३३ का महिला दिदीबहिनीहरुको सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमका लागि २५ हजार रुपैयाँ, चिसाखोला वेदविद्याश्रमलाई २० हजार रुपैयाँ, सिदार्थ नमूना दिदीबहिनी समूह पोखरा १७ मा कुर्सी र अफिस दराज सहयोग शिर्षकमा २५ हजार रुपैयाँ सहयोग गरेको उनले बताए।

यसैगरी, मोहरिया परियार समाजलाई लोकबाजा खरिदका लागि ३० हजार रुपैयाँ, पोखरा ३३ स्थित उपल्लोपुँडी, तल्लोपुँडी, ठूलोपाखा, आँपुकसेरी, मालागिरी, बरपौवा, चिसापानी, बरमास्थर, भर्तीपोखरा, सिंगारेबास, जिब्रेढुंगा, सुरताङ, खैरहनी, लाम्गादी र पानीट्याङकीका युवाहरुलाई खेलकुद सामग्री सहयोग शीर्षकमा ६७ हजार ५ सय रुपैयाँ, पोखरा १६ स्थित तुम्के गल्र्याङमा खानेपानी पाइप सहयोग शिर्षकमा ६५ हजार रुपैयाँ सहयोग गरिएको छ।

प्रतिभा मार्ग पोखरा ८ मा कन्भेक्स मिरर जडान गर्न १५ हजार रुपैयाँ, पोखरा २० आँटीघर मछाप हात्तिगौँडा समाजको सामाजिक भवन निर्माणका लागि ३० हजार रुपैयाँ, हंशपुर एग्रो फार्म रुपागाउँपालिका ७ मा कृषि सामग्री सहयोगका लागि १० हजार रुपैयाँ, नवजागरण युवा क्लब पोखरा २८ लाई २० हजार रुपैयाँ आर्थिक सहयोग मन्त्री थापाले गरेका छन्।

पोखरा २१ की लिलाकुमारी थापालाई कृषि सामग्री सहयोग शिर्षकमा ३० हजार, सिदार्थ नमूना दिदीबहिनी समूह पोखरा १७ लाई टेबल, कुर्सी, अफिस दराज सहयोग शिर्षकमा २५ हजार रुपैयाँ, श्री विरेन्द्र स्मृति पार्क संरक्षण समिति पोखरा ३ मा पार्क संरक्षण तथा सौन्दर्यकरण गर्न ५ हजार रुपैयाँ, पृथ्वीनारायण क्याम्पस कानून संकायमा अध्ययनरत विद्यार्थीबीच संवैधानिक बहस शीर्षकमा १० हजार रुपैयाँ, मानवअधिकार तथा शान्ति समाज लाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

मन्त्री थापाले जारी गरेको खर्च विवरणमा नयाँबजार युवा क्लब पोखरा ९ लाई खेलकुद सामग्री सहयोगबापत २१ हजार ८ सय ६० रुपैयाँ उपलब्ध गराइएको छ। यस्तै नेपाल क्योकुशिन कान कराँते संघलाई १० हजार रुपैयाँ, चापाकोट देउराली सामुदायिक होमस्टे पोखरा २३ लाई पूर्वाधार निर्माणका लागि १५ हजार रुपैयाँ, ज्येष्ठ नागरिक सरोकार समाज पोखरा ९ मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गर्न १० हजार रुपैयाँ खर्च गरिएको छ।