तनहुँमा काँग्रेसका वरिष्ठ नेता पौडेल निकट ७ जनाले दिए सामूहिक राजीनामा

जनसम्मत
वैशाख १३, २०७९, मंगलवार

टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका ७ जना कांग्रेस नेता र कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस तनहुँका पूर्वजिल्ला सचिव (हाल संगठन विभाग प्रमुख) विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगालेलगायतले राजिनामा दिएका हुन्।

स्थानीय तहको टिकट वितरणमा पार्टीले योगदान गरेकालाई भन्दा पैसामा बिकेर टिकट दिएको आरोप लगाउँदै उनीहरुले स्वतन्त्र रहने घोषणा समेत गरेका छन्।

राजीनामा दिएका महश्वेर भट्टराईले शुक्लागन्डकीको मेयरमा, दाहालले व्यास नगरपालिका–१ को वडाध्यक्षमा, थापाले व्यास नगरपालिका–२ को वडाध्यक्षमा, पौडेलले शुक्लागन्डकी नगरपालिका–३ को वडाध्यक्ष र महतले शुक्लागन्डकी नगरपालिका–८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी समेत दिएका छन्।