४ हजार जनाले फिर्ता लिए उम्मेदवारी

स्थानीय तह निर्वाचन २०७९

जनसम्मत
वैशाख १७, २०७९, शनिबार

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब ४ हजारले फिर्ता लिएका छन्।

वैशाखको गत ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकोमा हिँजो (शनिबार) साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो।

प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको हो। सो प्रणालीमा हिँजो ७ बजेसम्मको विवरणअनुसार देशभरका ७ सय ५३ पालिकाका ३५ हजार २ सय २१ पदका लागि १ लाख ५३ हजार एक सय ६७ जनाको उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको चुनाव सम्बन्धि कार्यतालिकाअनुसार शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय थियो।

आज (शनिबार) उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। अन्तिम नामावली प्रकाशित हुनुअघि दलका नेताहरु बागी उम्मेदवारी फिर्ताको प्रयासहरु गरिरहेका छन्।

कतिपय स्थानीय तहमा सत्ता गठबन्धनका दलबीच पनि उम्मेदवारी फिर्ताको लागि छलफल भइरहेका छन्। मेयर पदका लागि ३ हजार ५ सय १८ जनाले उम्मदेवारी दिएका थिए। उपमेयरका लागि २ हजार १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए। मेयर तथा उपमेयर र अध्यक्ष तथा उपाध्यक्ष सहितका विभिन्न पदमा धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको छ।

त्यसैगरी गाउँपालिका अध्यक्षका लागि ३ हजार ३ सय ९२, उपाध्यक्षका लागि २ हजार ४ सय ०७, वडाध्यक्षका लागि ३५ हजार ३ सय ८७, महिला सदस्यका लागि २६ हजार ५ सय ५८, दलित महिला सदस्यका लागि २३ हजार ९ सय ५९ र सदस्यका लागि ५५ हजार ७ सय ७२ जनाको उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।