एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपाल हङकङसँग पराजित

जनसम्मत
असार ७, २०७९, मंगलवार

एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपाल हङकङसँग ७ विकेटले पराजित बनेको छ।

मलेसियाको किनरारा मैदानमा नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा मात्रै ३ विकेट गुमाएर भेटायो।

हङकङकी मिरिको हिलले सर्वाधिक ४५ रन बनाइन्। बलिङतर्फ नेपालकी संगीता राईले २ र सीता मगरले १ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो। नेपालका लागि रुबिना क्षेत्रीले नटआउट ३२ र अप्सरी बेगमले २२ रन बनाए।

यसअघि नै सेमिफाइनल पुगेको नेपालले आजको हारसँगै तालिकामा दोस्रो स्थानमा रहेर लिग चरणको खेल पूरा गरेको छ। १० टिम सहभागी प्रतियोगिताको फाइनलमा पुग्ने २ टोलीले एसिया कप महिला टी–२० खेल्न पाउनेछन्।