‘भ्युअर्सको लोभमा सीमाभन्दा बाहिर गएर समाचार नलेख्नुस्’

जनसम्मत
चैत्र १६, २०८०, शुक्रबार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘भ्युअर्स’को लोभमा सीमाभन्दा बाहिर गएर गलत समाचार नलेख्न आग्रह गरेका छन्।

प्रेस काउन्सिल नेपालले आज (शुक्रबार) गरेको नियमित अभिमुखीकरणमा बोल्दै उनले नयाँ सूचीकृत भएका अनलाइनका संचालक र सम्पादकलाई ‘भ्युअर्स’को लोभमा गलत समाचार नलेख्न आग्रह गरेका हुन्।

अनलाइन तथा युट्युबबाट गरिने पत्रकारितामा ‘भ्युअर्स’को लोभमा समाचारजन्य विषयवस्तु गलत रूपमा प्रकाशन÷प्रसारण हुने गरेको अध्यक्ष बस्नेतले दाबी गरे।

‘यसै पनि पत्रकारिता हतारकै साहित्य हुने गर्छ त्यसमा पनि अनलाइनमा झनै हतार हुन्छ नै। हतार भयो भनेर वा ‘भ्युअर्स बढी आउँछ’ भनेर समाजलाई हानी गर्ने गलत र आचारसंहिताका सीमाभन्दा बाहिर गएर समाचार लेख्नु हुँदैन। तपाईंहरू पनि सजग रहनुहोस्’, उनले अथ्र्याए।

छापा, अडियो, भिडियो अनलाइन वा जुनसुकै माध्यमबाट गरिने पत्रकारिता स्वस्थ, मर्यादित र विश्वसनीय हुनैपर्ने उनको भनाइ छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा क्षमताको समुचित सदुपयोग गरेर जिम्मेवार पत्रकारिता गर्न सहभागीलाई आग्रह गरे।

अनलाइन खोल्दैमा पत्रकारिता नहुने भन्दै अध्यक्ष पोख्रेलले अनलाइनबाट संप्रेषित हुने सामग्रीले पत्रकारिताको मान्यताअनुसार काम गरेको हुनुपर्ने प्रष्ट पारे।

उनले पत्रकारिताको विषयवस्तु निर्माण गर्ने प्रक्रियामा कुनैपनि हस्तक्षेप वा बाधक हुन नहुने प्रष्ट पारे।

त्यस्ता विषयवस्तु निर्माण गर्दा आचारसंहिताको अनिवार्य पालना भने हुनुपर्ने उनको भनाई थियो।

काउन्सिलले पत्रकारलाई आचारसंहिता कक्षा लिएर मात्र अनलाइन संचालन गर्न पाइने गरी सुरु गरेको अभिमुखीकरण कक्षा अत्यन्तै उपयुक्त भएको उनको भनाई थियो।

काउन्सिलले नयाँ सूचीकरण हुन आउने अनलाइनका संचालक र सम्पादकलाई अभिमुखीकरण कक्षा संचालन गर्ने गरेको छ।

हालसम्म करिब १३ सय अनलाइनका २ हजारभन्दा बढीले यस्तो कक्षा लिएका छन्।

शुक्रबारको कक्षामा रत्न राज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक डा. जगत नेपालले पत्रकार आचारसंहिताका विषयमा र काउन्सिलका मुख्य

अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहिता अन्तर्गतका विभिन्न निर्देशिकामा रहेका व्यवस्थाबारे प्रकार पारे।

प्रशिक्षक नेपालले विश्वसनीय मानिएका संचार माध्यम पनि फेक न्युजको सिकार हुने गरेको उदाहरण दिए।

उनले पत्रकारितामा सूचनाको प्रमाणिकरण गर्न जरुरी रहेको बताए।

विभिन्न ३१ वटा अनलाइनका संचालक र सम्पादक सहभागी कार्यक्रमको सहजीकरण काउन्सिलका सह–प्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए।