सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

माओवादीको स्थायी कमिटीको अनौपचारिक बैठकले प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतलाई समेत आशंका गरेको छ

जनसम्मत
वैशाख २१, २०७८, मंगलवार

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

माओवादीको आज (मंगलवार) पेरिसडाँडामा बसेको अनौपचारिक स्थायी कमिटीको बैठकले २०७४ फागुन ३ गते दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। यो निर्णयसँगै सरकार अल्पमतमा परेको छ।

माओवादी नेता देव गुरुङले मंगलबारको स्थायी समिति बैठकपछि संचारकर्मीहरुलाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन्।ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्।

नेकपा माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदम असंवैधानिक भएको र यसको भण्डाफोर गरेर अघि बढ्ने समेत बताएको छ।

स्थायी कमिटीको अनौपचारिक बैठकले प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतलाई समेत आशंका गरेको हो। माओवादी संसदीय दलका मुख्य सचेतक देव गुरुङले सरकार नसच्चिएको, संसद विघटन रोक्ने विकल्प खोजेको र सधैं असंवैधानिक कदममा नै उद्दत देखिएको बताए।