पोखरा महानगरले सडक छेउ र खुल्ला ठाउँमा २ लाख भन्दा बढी विरुवा रोप्दै

जनसम्मत
वैशाख ३, २०८१, सोमबार

पोखरा महानगरपालिकाले पोखराका सडक छेउ र खुल्ला ठाउँमा २ लाख बढि विरुवा रोप्ने भएको छ ।

पोखरालाई हरित सहरको रुपमा विकास गर्न सडक छेउ लगायत खुला ठाउँमा २ लाख १८ हजार बोटविरुवा रोप्ने गरी तयारी थालिएको महानगरपालिकाले जनाएको छ।

संभावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्न वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा शेषकान्त भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

सोही कार्यदलले महानगरलाई संभावित वृक्षरोपण क्षेत्र छनोट गरी २ लाख बोटभन्दा बढी विरुवा रोप्न सुझाएको हो।

रैथाने प्रजाति, स्थानीय बासिन्दाको रोजाई, सौन्दर्ययता बढाउने प्रजाति, सदाबहार प्रजाति, धार्मिक महत्वका प्रजाति, पोखरा महानगर भित्र राम्रोसँग हुर्किरहेका प्रजाति, हावाहुरीबाट सजिलै नभाँचिने प्रजातिका आधारमा वृक्षरोपण गरिने बिरुवाका प्रजातिहरू छनौट गरिएको कार्यदलले बताएको छ।

कार्यदलको अध्ययनअनुसार महानगर क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ किमी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका विरुवा लगाउन सकिनेछ।

महानगर क्षेत्रमा पहिचान गरिएको संभावित क्षेत्रमा लगाउन सकिने बिरुवाहरूमा वर, पिपल, समी, पैयुँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फूल, राइखन्यु, गुलमोहर, बैंस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातोपाते, सिना एक्साटाबिलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जंगली केरा लगायत छन्।

सार्वजनिक खुला क्षेत्रमा ७३ हजार ३९९ र सडक, नदी तथा खोला किनारमा १ लाख ४४ हजार ६०४ वटा विरुवा रोप्न सकिने संभावना रहेको कार्यदलका संयोजक डा।भण्डारीले बताए।

महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानहरूमा वृक्षरोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाई सम्भावित सम्भावनाहरूको पहिचान गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताए।

हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छताप्रति स्थानीय सरकारको प्रतिवद्धता समेत भएको बताए।