आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा सेमीफाइनल समिकरण पूरा

भारत शीर्ष स्थानमा, अस्ट्रेलिया दोस्रो, घरेलु टोली इङल्याण्ड तेस्रो र भाग्यमानी बन्दै न्यूजिल्याण्ड चौथो भएर सेमिफाइनलमा पुगेका छन्

जनसम्मत
असार २३, २०७६, सोमबार

आइसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणका सबै खेल सकिएका छन् ।

समूह चरणको खेल सकिएसँगै आइतबार र सोमबार कुनैपनि खेल हुने छैन । क्रिकेट अन्तर्गत समूह चरणमा सहभागी टोली सबैले समान ९ वटा खेल खेलेका छन् ।

क्रिकेटमा भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । शनिबार भएको श्रीलंकासँगको अन्तिम जितसँगै ९ खेलमा ७ जितेर १५ अंकका साथ भारत शीर्ष स्थानमा उक्लिएको हो । अस्ट्रेलिया दोस्रो, घरेलु टोली इङल्याण्ड तेस्रो र भाग्यमानी बन्दै न्यूजिल्याण्ड चौथो भएर सेमिफाइनलमा पुगेका छन् । पाकिस्तानसँग समान ११/११ अंक हुँदा रन रेटमा अघि रहँदै भाग्यमानी न्यूजिल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

आइसीसी विश्वकपको नियमअनुसार प्रतियोगिताको शीर्ष स्थानमा रहेको भारतले सेमिफाइनल पुग्ने चौथो टिम न्यूजिल्याण्डसँग फाइनलका लागि मंगलबार पहिलो सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछ । विहीबार हुने दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र इङ्ल्याण्ड आमने–सामने हुनेछन् ।

जारी विश्वकपको समूह चरणमा भारत र न्यूजिल्याण्डको खेल वर्षाले प्रभावित भएपछि रद्द भएको थियो । जसले गर्दा भारत र न्यूजिल्याण्ड यो विश्वकपमा पहिलो पटक खेल्दैछन् । यस्तै, विश्वकपको इतिहासमा भारत र न्यूजिल्याण्डले सेमिफाइनलमा खेल्न लागेको पनि पहिलो पटक हो ।

शनिबार रातिको खेलमा भारतले श्रीलंकालाई पराजित गर्दा दक्षिण अफ्रिकासँग अस्ट्रेलिया पराजित भएपछि भारत शीर्ष स्थानमा उक्लिएको थियो । भारतले समूह चरणमा १ खेलमा मात्रै पराजय भोगेको छ । अस्ट्रेलियाले २ खेलमा पराजय बेहोरोको थियो ।

विश्वकपको उपाधि २ पटक उचालिसकेको भारतको यो सातौं सेमिफाइनल यात्रा हो । अहिलेसम्म खेलेका ६ सेमिफाइनलमा उसले ३ मा जित र ३ सेमीफाइनलमा हारेको थियो । तीन फाइनल खेलेको भारतले १९८३ र २०११ मा आइसीसी विश्वकपको च्याम्पियन बनेको थियो । २००३ को फाइनलमा भारत पराजित भएको थियो ।

न्यूजिल्याण्डले ८ पटक सेमिफाइनलमा स्थान बनाएको छ । तर, उसले फाइनलयात्रा भने एक पटक मात्रै गरेको छ । २०१५ को विश्वकपमा फाइनल पुगेपनि अस्ट्रेलियासँग पराजित हुँदै न्यूजिल्यान्ड उपविजेतामै समेटिएको थियो ।

यस्तै, ११ तारिखमा हुने सेमिफाइनलमा भिड्ने टिम अस्ट्रेलिया र इङ्ल्याण्डले ४४ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । १९७५ को विश्वकपको सेमिफाइनलमा यी दुई टिम भिड्दा अस्ट्रेलिया ४ विकेटले विजयी बनेको थियो ।

अस्ट्रेलियाको यो आठौं सेमिफाइनल हो । उसले यसअघि भएका सातवटै सेमिफाइनल जितेर फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको थियो ।

यस्तै, इङ्ल्याण्ड भने ६ पटक सेमिफाइनल पुग्दैछ । उसले खेलेका पछिल्ला ५ सेमिफाइनलमा ३ मा जित र २ मा हार हात लागेको छ । इङल्याण्ड १९९२ को विश्वकपपछि पहिलो पटक अन्तिम चारमा पुगेको हो । क्रिकेटको उत्पत्ति इङल्याण्डबाटै भएपनि उसले अहिलेसम्म विश्वकपको ट्रफी उचाल्न पाएको छैन् । ३ पटक फाइनल खेल्दापनि इङ्ल्याण्डले उपविजेतामै चित्त बुझाउँदै आएको छ ।