भदौको दोस्रो साता जुम्ला रारा अल्ट्रा म्याराथन

कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय र भारत, चीनलगायतका अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने छ

रासस
भाद्र २१, २०७६, शनिबार

खलङ्गा । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता भदौको २९ गते हुने भएको छ ।

कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय र भारत, चीनलगायतका अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने छ ।

शुक्रबार कर्णाली खेलकूद क्लब जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा म्याराथनबारे जानकारी दिइएको हो । कर्णाली क्षेत्रको समग्र विकासबाट अधिकतम प्रतिफल हासिल गर्ने गरी आगामी दिनमा सम्भावित पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुगोस भन्ने उद्देश्यसहित म्याराथन आयोजना गरिएको कर्णाली खेलकूद क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

‘यो म्याराथनले कर्णालीमा पनि खेल पर्यटनको सम्भावना अधिक रहेको सन्देश प्रवाह गर्नेछ, शाहीले भने, ‘यो म्याराथन नेपाल ट्रेल सेरिज २०१९ को प्रमुख पाँच अल्ट्रा म्याराथनमध्ये एक हो ।’

म्याराथन कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट शुरु भएर टुँडिखेल, कर्णाली अस्पताल, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउर, काभ्रा, चौथा, भुलभुले र चुचेमारा भएर रारातालमा पुगेर समापन हुने बताइएको छ ।

प्रतियोगितामा खुला महिला र पुरुष गरी दुई समूहमा म्याराथन हुनेछन् । बालबालिकाका लागि पाँच किलोमिटर र एक किलोमिटर दौड सञ्चालन गराइने एथ्लेटिक्स धावक हरिबहादुर रोकायाले जानकारी दिएका छन् । दुवै समूहका विजेता धावकहरूलाई क्रमशः प्रथमलाई ७५ हजार, द्वितीयलाई ५० हजार र तृतीयलाई ३० हजार प्रदान गरिनेछ ।

यसैगरी, टप टेनसम्ममा आउने खेलाडीलाई ५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ । यो म्याराथनमा विजेता धावकले अन्नपूर्णमा पहिलो पटक हुन लागेको विश्वविख्यात, अल्ट्रा म्याराथन २०१९ को फाइनलमा विश्वका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न पाउनेछन् । म्याराथनमा सहभागिताका लागि दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ लाग्ने रोकायाको भनाइ छ ।

म्याराथन सञ्चालनका लागि जुम्लाका स्थानीय तहसँग समन्वय भइरहेको धावक रोकायाले बताए । म्याराथनले रेसको ब्राण्ड नभई ठाउँको प्रमोशनमा टेवा पुग्ने उनको दाबी छ ।

एथ्लेटिक्स सङ्घका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले खेलकूद परिषदमा भइरहने चर्को राजनीतिले नेपालको खेल क्षेत्रअघि बढ्न नसकेको बताए । अहिलेसम्म ४९ जिल्लामा एथ्लेटिक्स संघ छन् । संघले हरेक जिल्लाबाट नियमअनुसार खेलाडी उत्पादन गर्नुपर्ने उनको भनाई छ ।

म्याराथन आयोजना गर्न हालसम्म तिला गाउँपालिकाले १ लाख, चन्दननाथ नगरपालिकाले ५ लाख र एथ्लेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले आफ्नोतर्फबाट १ लाख सहयोग गर्ने आश्वासन दिएका छन् । जुम्ला रारा अल्ट्रा म्याराथन गर्न अनुमानित ३३ लाखसम्मको बजेट आवश्यक पर्ने उनले बताए ।