दोस्रो मैत्रीपूर्ण भलिबलमा भारतसँग नेपालको फराकिलो हार

बैंगलोरको साउदर्न साई कभर्डहलमा पाँच सेटको खेलमा भारतसँग नेपाल २५–१९, २५–१४, २९–२७, २७–२५ र २५–२१ ले पराजित भएको हो

जनसम्मत
कार्तिक ३०, २०७६, शनिबार

पोखरा । भारतको राष्ट्रिय टिमसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिम पराजित बनेको छ ।

बैंगलोरमा शुक्रबार साँझ भएको खेलमा नेपाल भारतसँग ५–० को सेटमा पराजित भएको हो ।

साउदर्न साई कभर्डहलमा पाँच सेटको खेलमा भारतसँग नेपाल २५–१९, २५–१४, २९–२७, २७–२५ र २५–२१ ले पराजित भएको हो । मैत्रीपूर्ण भएको कारण पाँचै सेटमा खेल खेलाइएको थियो ।

यसअघि पनि पहिलो मैत्रीपूर्ण खेलमा भारतको राष्ट्रिय टिमसँग नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले नेपाल ४–१ को सेटमा पराजित बनेको थियो । वैदेशिक प्रशिक्षणका लागि भारतमा रहेको नेपाली टिमले अब सोमबार भारतको राष्ट्रिय टिमसँग तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न नेपाली टिम भारत गएको हो । नेपाली टोलीले भारतमा बिहान ७ देखि ९ र बेलुका ३ देखि ५ बजेसम्म दुई चरणको तयारी गरिरहेको नेपाल भलिबल संघले जनाएको छ ।