सकियो साग खेलकुद

अबको १४ औं साग पाकिस्तानमा

जनसम्मत
मंसिर २५, २०७६, बुधबार

पोखरा । दक्षिण एसियाली खेलकुद सागको १३ औं संस्करण मंगलबार सकिएको छ ।

नेपालमा आयोजना गरिको साग खेलकुद प्रतियोगिता साग दशरथ रंगशालाबाट समापन गरिएको हो ।

मंसिरको १५ गतेबाट सागको उद्घाटन पनि यसै रंगशलाबाट गरिएको थियो । औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भयो ।

समापन समारोहलाई भिडियो प्रबिधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता ब्यवस्थित र भब्य रुपमा सम्पन्न भएकोमा हर्ष ब्यक्त गरे । उनले प्रतियोगितालाई सफल पार्न खट्ने र सहभागी हुने सबैलाई नेपाल सरकारका तर्फबाट धन्यबाद ब्यक्त गरे ।

प्रधानमन्त्री ओलीले बुधबार खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै खेल क्षेत्रका लागि बिशेष प्याकेजको घोषणा गर्ने सो अवसरमा जानकारी गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले सागको १३ औं संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकोमा हर्षित भएको बताए । ३५ बर्षअघि नेपालबाटै शुरु भएको सागको १३ औं संस्करण ऐतिहासिक साबित भएको चर्चा गर्दै उनले यो सफलताले बिश्वसामु नेपालको शिर अझ उचो बनाएको बताए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार) विश्वकर्माले प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएकोमा खुसी ब्यक्त गर्दै सहभागि राष्ट्र, खेल ब्यबस्थापक, खेलाडीलगायत सबैलाई धन्यबाद दिए ।

स्वागत मन्तब्य ब्यक्त गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको सफलताले खेल क्षेत्रमा अझ उर्जा र उत्साह जागेको बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब रमेशकुमार सिलबालले यो प्रतियोगिताको ऐतिहासिक सफलताले नेपालले जस्तो सुकै अबस्थामा पनि गर्न सक्छ भन्ने सन्देश दिएको बताए ।

काठमाडौं, पोखरा र जनकपुरमा गरि सागका विभिन्न खेलहरु खेलाइएको थियो । यस संस्करणको सागमा पहिलोपटक २७ वटा खेल समावेश थियो । नेपालले सबै खेलहरुमध्ये आयोजक नेपालले २४ खेलमा सहभागिता जनाएको थियो ।

यस संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल बन्यो । यसअघिका सागमा नेपालले यतिको संख्यामा स्वर्ण जितेको थिएन । १४ औँ साग पाकिस्तानमा हुनेछ ।

पदक तालिका अनुसार भारतले सर्वाधिक स्वर्ण हात पा¥यो । भारतले सर्वाधिक १७४ स्वर्ण, ९३ रजत तथा ४५ कांस्य जित्यो । भारतलाई स्वर्ण, रजत र कांस्य गरि सबैभन्दा बढी ३१२ पदक हात लाग्यो ।

दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्ण जित्दा ६० रजत तथा ९५ कांस्य हात पार्न सफल भयो । नेपालका लागि २ सय ६ वटा पदक जित्यो । श्रीलंकाले ४० स्वर्ण जित्दा, ८३ रजत तथा १२८ कांस्य जित्यो । तेस्रो स्थानको श्रीलंकाले २५१ पदक जित्यो ।

पाकिस्तान पदक तालिकाको चौथो स्थानमा रह्यो । ३१ स्वर्ण जितेको पाकिस्तानले ४१ रजत तथा ५९ कास्य जित्न सफल बन्यो । पाँचौं स्थानको बंगलादेशले १९ स्वर्ण, ३२ रजत तथा ८७ कांस्य जित्यो ।

छैठौं स्थानको माल्दिभ्सले १ स्वर्ण जित्दा शून्य रजत तथा ४ कांस्यमा सीमित बन्यो । सातौं तथा अन्तिम स्थानको भुटानले शून्य स्वर्ण, ७ रजत तथा १२ कांस्यमा समेटियो ।