विराटनगरले पीपीएलमा बुटवलसँग प्ले–अफ खेल्दै

लिग चरणको अन्तिम खेलमा बुटवल ब्लाष्टरलाई ६ विकेटले हराउँदै विराटनगर प्ले–अफ खेल्ने भएको हो

जनसम्मत
पौष १०, २०७६, बिहीवार

पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको एलिमिनेटर राउण्डमा पुग्न सफल भएको छ ।

लिग चरणको अन्तिम खेलमा बुटवल ब्लाष्टरलाई ६ विकेटले हराउँदै विराटनगर प्ले–अफ खेल्ने भएको हो ।

निकै सम्भावना बोकेको पोखरा रंगशालामा बुधबार विराटनगरले फराकिलो अन्तरले हराएपछि रनरेट आधारमा काठमाडौं लिग चरणबाटै बाहिरिन बाध्य भयो । बुटवलले जितेमात्र काठमाडौं अंक तालिकामा तेस्रो रहँदै प्ले–अफ खेल्ने थियो ।

तर, विराटनगरको महत्वपूर्ण जितसँगै समान ४ अंक बनाएका काठमाडौं र धनगढी पछि परेका हुन् । साविक विजेता पोखरा मात्र १ खेल जितेर २ अंकका साथ लिगचरणबाटै बाहिरिइसकेको थियो ।

अब प्रदीपसिंह ऐरी कप्तानीको विराटनगर फाइनलमा चितवन राइनोजसँग भेट सुनिश्चित गर्न ३ खेल जित्दै ६ अंकका साथ दोस्रो स्थानमा रहेको बुटवलसँग एलिमिनेटर राउण्ड खेल्नेछ । पारस खड्का कप्तानीको चितवन लिगका पाँचै खेल जित्दै १० अंकका साथ उपाधि नजिक पुगिसकेको छ । १५ दिने लामो प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ ।

टस जितेर फिल्डिङ रोजेपनि विराटनगरले बुटबलले दिएको १३४ रनको लक्ष्य ६ विकेट क्षतिमा ११.४ ओभरमै पूरा गर्न सफल भएको हो । जितमा नोमन खानले सर्वाधिक ३५ रन बनाए । यस्तै, पुनित मेहेराले ३२, मोहम्मद जैद आलमले २४, पुष्प थापाले १८ र लोकेश बमले १३ रनको योगदान दिए ।

प्रतियोगितामा ‘म्यान अफ दी म्याच’ समेत घोषित आलमले १० बल सामना गरेकोमा ४ चौका र १ छक्का हानेका थिए । ३५ रन जोडेका खानले २२ बलमा ५ चौका हानेका थिए भने ३२ रन बनाएका मेहराले १७ बलमा १ छक्का सहित ३ चौका हानेका थिए । कप्तान ऐरीले ५, सुनिल धमलाले २ र मिनास थापा अविजित रहँदै १ रन बनाएका थिए । बुटवलका लागि नितेश थापाले २ तथा अविनाश बोहरा, कमल खत्री र हर्ष टंकले समान १/१ विकेट लिए ।

उता, बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । हर्ष टंकले ६७ रन बनाउँदै अर्धशतकीय इनिङ्स खेले । ४४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए पनि विराटनगरसँगको हार टार्न पर्याप्त रहेन ।

ओपनर अफ्ताबुद्दिन अहमद शुन्य रनमा आउट हुँदा शिवम सिंहले ३७ र कप्तान सिद्धान्त लोहनीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरका लागि मोहम्मद जैद आलमले सर्वाधिक ४ झार्न सफल भए । किशोर महतोले २ तथा दीपेश श्रेष्ठ र शाहब आलमले समान १/१ विकेट लिए ।