विभागीय नेपाल पुलिस र एपीएफ दिदीबहिनी कप महिला भलिबलको फाइनलमा

प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्यू–डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाएको हो, दोस्रो सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो

जनसम्मत
फागुन ९, २०७६, शुक्रबार

पर्वत । विभागीय नेपाल पुलिस क्लब र साविक विजेता एपीएफ क्लब पर्वतमा जारी दिदीबहिनी कप भलिबलको फाइनलमा पुगेको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्यू–डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाएको हो । एपीएफले न्यू–डायमण्डमाथि २५–९, २५–१५ र २५–१८ को सेटमा पराजित ग¥यो । प्रतिभा चोटका कारण कोर्ट बाहिर छन् ।

दोस्रो सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो । पुलिसले आर्मीमाथि २५–१९, २५–२३ र २६–२४ को सेटमा जित निकाल्दै एपीएफसँग भेट पक्का गरेको हो । अब, आर्मीले भने तेस्रो स्थानको लागि न्यु डाईमण्डसँग खेल्नेछ ।

एपीएफ र नेपाल पुलिस क्लबबीचको फाइनल खेल वर्षाको कारण स्थगित भएको हो । फाइनल खेलसँगै न्यु डाईमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच तय भएको तेस्रो स्थानको खेल पनि स्थगित भएको आयोजक रेडियो दिदिबहिनीले जनाएको छ । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको प्ले–अफ खेल शनिबार (भोली) बिहान हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।