पुलित्जरकी व्यवस्थापक डाना केनेडीले आफ्नो घरको लिभिङ रुमबाट यस वर्षको पुलित्जर पुरस्कार २०२० घोषणा गरिन्

अश्वेत लेखकको कीर्तिमानी दोस्रो पुलित्जर पुस्कारदेखि कश्मीर फोटो पत्रकारसम्म, ‘द न्यूयोर्क टाइम्स’लाई पत्रकारितातर्फको ३ विधामा पुरस्कार, आइडा बी वेल्सलाई उत्कृष्ट उत्कृष्ट रिपोर्टिङको पुलित्जर विशेष प्रशस्ती–पत्र प्रदान

जनसम्मत
वैशाख २३, २०७७, मंगलवार

अमेरिकी लेखक कोल्सन ह्वाइटहेड आख्यान (फिक्सन) तर्फ दोस्रोपटक पुलित्जर पुरस्कार जित्ने चौथो लेखक बनेका छन् ।

अफ्रिकन–अमेरिकन लेखक ह्वाइटहेडले ‘द निकल बोइज’का लागि यो वर्ष (सन् २०२०) को पुलित्जरमा फिक्सन तर्फको पुरस्कार जितेका हुन् । फ्लोरिडाको बालसुधार विद्यालयमा अश्वेत बालकमाथि हुने गरेको दुव्र्यवहारको कथा उनले ‘द निकल बोइज’मा प्रस्तुत गरेका छन् ।

न्यूयोर्कका ५० वर्षे ह्वाइटहेडले सन् २०१७ मा अख्यानतर्फ नै पुलित्जर पुरस्कार जितेका थिए । उनले त्यसबेला ‘अण्डरग्राउण्ड रेलरोड’ पुस्तकका लागि पुस्कार जितेका थिए । यसअघि, बूथ तार्किङ्टन, विलियम फोक्नर र जोन अपडिकले आख्यानतर्फ दुईपटक पुलित्जर जितेका थिए ।

कोरोना भाइरसको महामारीका कारण यो वर्षको पुलित्जर पुरस्कारको घोषणा केही हप्तापछि धकेलिएको हो । सोमबार पुलित्जरकी व्यवस्थापक डाना केनेडीले आफ्नो घरको लिभिङ रुमबाट यस वर्षको पुरस्कार विजेताको घोषणा गरेकी हुन् ।

पहिलो पुलित्जर पुरस्कारको घोषणा सन् १९१७ मा स्पेनिस फ्लूको महामारी भन्दा एक वर्ष पहिले घोषणा भएको कुरा उनले त्यस क्रममा बताएकी छिन्।

अमेरिका कर्मथलो बनाएका पत्रकार तथा लेखकका लागि पुलित्जर सबैभन्दा ठूलो सम्मानका रुपमा रहेको छ ।

यस वर्ष पत्रकारिता तर्फ द न्यूयोर्क टाइम्सले सबैभन्दा धेरै तीनवटा विधामा पुरस्कार जितेको छ । न्यूयोर्क सिटीको कर उद्योगमाथि गरेको खोजमुलक रिपोर्टिङका लागि न्यूयोर्क टाइम्सका ब्रायन रोजेन्थलले पुलित्जर जितेका छन् ।

ब्रेकिङ न्यूज रिपोर्टिङतर्फ केन्टुकीको ‘द कुरियर–जर्नल’ले राज्यका गभर्नरले अन्तिम समयमा गर्ने गरेका विवादास्पद फैसलासम्बन्धी खबरका लागि पुलित्जर जितेको छ ।

एक्सप्लानेटरी रिपोर्टिङतर्फको पुस्कार ‘द वासिङ्टन पोस्ट’ले जितेको छ । यस्तै स्थानीय रिपोर्टिङका लागि ‘द बाल्टिमोर सन’ तथा राष्ट्रिय रिपोर्टिङका लागि प्रो–पब्लिकका टी. क्रिष्टियन मिलर, मेगन रोज तथा रोबर्ट फातुची र ‘द सियाटल टाइम्स’का डोमिनिक गेट्स, स्टिभ मिलेटिच, माइक बाकर र लेविस काम्बाले पुलित्जर जितेका छन् ।

अन्तर्राष्ट्रिय रिपोर्टिङतर्फ रुसमा भ्लादिमिर पुटिनको शासनबाट उत्पन्न जोखिम सम्बन्धमा गरिएका स्टोरीका लागि ‘द न्यूयोर्क टाइम्स’ले पुलित्जर जितेको छ । यस्तै फिचर लेखनतर्फ ‘द न्यूयोर्ककर’का बेन ताउबले पुरस्कार जितेका छन् ।

कमेन्ट्रीमा ‘द न्यूयोर्क टाइम्स’की निकोल हाना–जोन्स, क्रिटिसिज्ममा ‘लस एन्जलस टाइम्स’का क्रिष्टोफर नाइट, एडिटोरियल लेखनमा टेक्सासको प्यालेस्टाइन हेराल्ड प्रेसका सम्पादक जेफरी ग्यारेट तथा एडिटोरियल कार्टुनिङमा ‘द न्यूयोर्कर’का कन्ट्रिब्युटर ब्यारी ब्लिटले पुलित्जर पुरस्कार जितेका छ्न ।

यसैगरी, ब्रेकिङ न्यूज फोटोग्राफीमा समाचार संस्था रोयटर्सको टोफोग्राफी टिम र फिचर फोटोग्राफीमा समाचार संस्था एसोसिएट प्रेस (एपी) का चेन्नी आनन्द, मुख्तार खान र दार यसिनले पुलित्जर पुरस्कार जितेका छन् । फिचर फोटोग्राफीमा पुरस्कार जित्ने तीनैजना काश्मीरका फोटो पत्रकार हुन् ।

अडियो रिपोर्टिङतर्फ ‘दिस अमेरिकन लाइफ’ले लस एन्जलस टाइम्सकी मोली ओटूल र ‘भाइर न्यूज’की प्रिल्यान्सर एमिली ग्रिन तथा पब्लिक सर्भिसतर्फ अलास्काको एङ्करेज डेली न्यूजले पुलित्जर जितेको छ । एङ्करेजले प्रोपब्लिकको सहयोगमा अलास्काको गाउँमा प्रहरीको सुरक्षा नरहेको सम्बन्धमा गरेको सिरिज रिपोर्टिङका लागि पुलित्जर दिइएको हो ।

यस्तै, ड्रामातर्फ ‘अ स्ट्रेज लूप’का लागि माइकल आर, ज्याक्सन, हिस्ट्रीका तर्फ ‘स्वीट टेस्ट अफ लिबर्टीः अ ट्रू स्टोरी अफ सेल्भरी एण्ड रेस्टिच्युसन इन अमेरिका’का लागि डब्लु. कालेब म्याकडेनियल, बायोग्राफी तर्फ ‘सोन्ट्यागः हर लाइफ एण्ड वार्क’का लागि बेन्जामिन मुसर, कविता तर्फ ‘द ट्रेडिसन’का लागि जेरिको ब्राउन र संगीत तर्फ ‘द सेन्ट्रल पार्क फाइभ ओप्रा’का लागि एन्थोनी डेविसले पुलित्जर जितेका छन् ।

यसैगरी जनरल ननफिक्सन तर्फ ‘द अनडाइङः पेन, भल्नराबिलिटी, मोर्टालिटी, मेडिसिन, आर्ट, टाइम, ड्रिम्स, डाटा, एक्जोक्सन, क्यान्सर एण्ड केयर’का लागि एनी बोयर र ‘द इन्ड अफ द मिथः फ्रम द फ्रन्टियर टू द बोर्डर वाल इन द माइन्ड अफ अमेरिका’का लागि ग्रेग ग्रान्डिनले यो वर्षको पुलित्जर पुरस्कार जितेका छन् ।

यस वर्ष अफ्रिकन अमेरिकनमाथि हुने लिन्चिङका सम्बन्धमा गरेको उत्कृष्ट रिपोर्टिङका लागि आइडा बी वेल्सलाई पुलित्जरले विशेष सम्मान गरेको छ । उनलाई विशेष प्रशस्तिपत्र प्रदान गरिने भएको हो ।

 

(देश सञ्चार डट कममा समाचार छ)