प्रतिवर्ष महिला हिंशाका घटनाहरु बढ्दो, चालु आर्थिक वर्षमा १४ सय ५३ वटा जवरजस्ती करणीका घटनाहरु घटेको अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीको प्रतिवेदन

‘महिला हिंशा न्युनिकरण, मानव अधिकारको संरक्षण एवं नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियान

जनसम्मत
वैशाख २०, २०७६, शुक्रबार

पोखरा । अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले प्रतिवर्ष महिला हिंशाका घटनाहरु बढ्दो रहेको बताएका छन् ।

‘महिला हिंशा न्युनिकरण, मानव अधिकारको संरक्षण एवं नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियानको शुक्रबार पोखरामा आयोजित कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक कार्कीले चालु आर्थिक वर्षमा १४ सय ५३ वटा जवरजस्ती करणीका घटनाहरु घटेको कार्यपत्र प्रस्तुत गरे ।

कार्कीले प्रस्तुत गरेको उक्त त्रिवर्षीय कार्यपत्रअनुसार अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा यस सम्बन्धी घटनाको संख्या ११ सय ३९ रहेको छ । आर्थिक वर्ष ०७२/०७३ मा यस सम्बन्धी घटनाको संख्या १ हजार ८९ थियो ।

यस चालु आर्थिक वर्षमा करणी सम्बन्धी उद्योगको घटनाको संख्या ७ सय ४७ छ । अघिल्लो ०७३/०७४ को आर्थिक वर्षमा यस सम्बन्धी घटनाको संख्याको संख्या ५ सय ३१ थियो । ०७२/०७३ को आर्थिक वर्षमा यस सम्बन्धी घटनाको संख्या ४ सय ५२ थियो ।

चालु आर्थिक वर्षमा मानव वेचविखनसम्बन्धी घटनाको संख्या ३ सय ५ छ । अघिल्लो आर्थिक वर्षमा यस सम्बन्धी घटनाको संख्या २ सय २७ छ । ०७२/०७३ को आर्थिक वर्षमा यस सम्बन्धी घटनाको संख्या २ सय ११ थियो ।

यस चालु आर्थिक वर्षमा बहुबिबाहसम्बन्धी घटनाको संख्या ६ सय ३ छ । अघिल्लो आर्थिक वर्षमा यससम्बन्धी घटनाको संख्या ४ सय ६५ थियो । ०७२/०७३ को आर्थिक वर्षमा यस सम्बन्धी घटनाको संख्या ४ सय ६३ थियो ।

चालु आर्थिक वर्षमा ५७ वटा बालबिबाहका घटना घटेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा यस सम्बन्धी घटनाको संख्या २९ थियो । ०७२/०७३ मा यस सम्बन्धी घटना संख्या २० थियो ।

चालु आर्थिक वर्षमा बोक्सीको आरोपमा ४७ वटा घटना घटेका छन् । अघिल्लो आर्थिक वर्षमा यस सम्बन्धी घटनाको संख्या २४ थियो । ०७२/०७३ मा यस सम्बन्धी घटनाको संख्या २८ थियो ।

कार्यक्रममा बोल्दै अतिरिक्त प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी मानवअधिकार रक्षाका लागि पहिलो रक्षक भएको उल्लेख गरे । हाल प्रहरीसँग भएको श्रोत साधनलाई अधिकतम उपयोग गरेर महिला हिंशा तथा मानव अधिकारका घटनाहरुलाई न्युनिकरण गर्न प्रहरीको काम कारवाहीलाई अगाडि बढाएको उनको भनाई थियो ।

विकासको पूर्वाधारको पहिलो प्राथमिकता सुरक्षा भएको बताउँदै कार्कीले प्रदेशस्तरमा सुरक्षा संयन्त्र सवल बनाउन प्रादेशिक सरकारको प्रमुख भूमिका रहने बताए । उनले महिला हिंशा एवं मानवअधिकारका घटनामा पीडित भएकाहरुले नजिकको प्रहरी निकायमा तत्काल उजुरी गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हिंशा वा मानव अधिकारको घटनामा पीडित भएकाहरुले नेपाल प्रहरीको कुनैपनि निकायमा उजुरी गर्नुहोस । यदी, त्यो निकायले सुनुवाई गरेन भने त्यो भन्दा पनि माथिको प्रहरी निकायमा जाहेरी दिनुहोस ।’

महिला हिंशाको घटनामा गण्डकी प्रदेश दोस्रो स्थानमा

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका उपनिर्देशक नितु गर्तौलाले गण्डकी प्रदेशमा महिला हिंशा सम्बन्धी गतिविधि विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । प्रदेशमध्ये गण्डकी प्रदेश मानव अधिकार हननका दृष्टिले दोस्रो प्रदेश रहेको उल्लेख गरिन् ।

प्रदेशमा महिला हिंशा बढ्दो क्रममा रहेको कार्यपत्रमा उल्लेख छ । बालविवाह, जबरजस्ती करणी र यौन दुव्र्यवहार, बोक्सीको आरोपमा महिलामाथि हुने हिंशा, होटल मसाज तथा ब्युटी पार्लरमा महिलामाथि यौन दुब्र्यवहार तथा शोषणका घटना, घरेलु हिंशा, आत्महत्या, बालबालिकामाथि हुने यौन दुब्र्यवहार, दाइजो, एसिड आक्रमण, बैदेशिक रोजगारीसँग सम्वन्धित घटनाहरु र साइबर क्राइमलगायतका यस प्रदेशमा घट्ने महिला हिंशाका घटनाहरु रहेको कार्यपत्रमा उल्लेख छ ।

संचार क्षेत्र र सामाजिक सञ्जालको विकास, प्रहरी प्रशासन र नागरिक समाजको सक्रियताका कारण महिला विरुद्ध हुने हिंशा तथा मानवअधिकारका घटनाहरुको उजागर हुने क्रम बढ्दो रहेपनि अधिकांश घटनाहरुको उजुरी सम्बन्धित निकायमा नआएको कार्यपत्रमा उल्लेख छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगको गण्डकी कार्यलय प्रमुख दिपकध्वज जंग कार्कीले स्वागत र मञ्जु खतिवडाले कार्यक्रम संचालन गरेकी थिइन् ।