आज गोवर्धन पूजा, म्हपूजा, नेपाल सम्वत ११४३ प्रारम्भ

जनसम्मत
कार्तिक ९, २०७९, बुधबार

आज कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक तिहारको चौँथो दिन।

अर्थात, आजको दिन गोवर्धन पूजा साथै नेपाल संवत देशभर मनाइँदैछ ।

द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो। कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवर्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि छ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा–आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने प्रचलन छ। यसैगरी, वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाउने परम्परा छ।

 

आज म्हपूजा पनि

नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन्।
म्हपूजाको अर्थ हो शरीर पूजा। तिहारको चौथो अर्थात कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ–आफ्नो शरीर पूजा गर्दै म्हपूजा पर्व मनाउने गर्दछन्। यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रम्हाण्ड चिन्नका निम्ति म्हपूजा गरिन्छ।

नेपाल सम्वत ११४३ प्रारम्भ

आजको दिन नेपाल सम्वत ११४३ प्रारम्भ भएको हुन्छ। नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेपाल संवतअनुसार नयाँ वर्षको पहिलो दिन अर्थात ‘न्हूदँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना आदान–प्रदान) गरी जातीय एकता र पुर्खयौली साझा मौलिक संस्कृतिका रूपमा विकास भएको म्हपूजालाई आफ्नो–आफ्नो परम्परागत चलनअनुसार हर्षोल्लासपूर्ण रूपमा मनाउँछन्। विशेषत, नेवार समुदायले मान्ने यो संवत नेपालको मौलिक संवत पनि हो।

राष्ट्रिय विभूति शंखधर साख्वा:ले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको संवत नै नेपाल संवत हो। यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्‍याली निकालिन्छ।