आजदेखि छठपर्वको ब्रत सुरु

आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी जल चढाएर छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइँदै

जनसम्मत
कार्तिक १३, २०७९, आइतबार

आज कार्तिक शुक्ल पञ्चमी अर्थात आजदेखि आस्थाको महापर्व छठको ब्रत सुरु भएको छ।

छठ पर्वको मुख्य दिन आज धुमधामसँग मनाइँदैछ।

छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी जल चढाएर छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।  विशेषगरि तराईबासीको मुख्य पर्वको रुपमा रहेको यस पर्वको दिन सरकारले हरेक वर्ष सार्वजनिक विदा दिदैँ आएको छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरि यो पर्व मनाइन्छ। छठअन्तर्गत आज (आइतबार) पहिलो दिन ‘नहाय–खाय’ विधि गरिन्छ। आजको दिनलाई ‘अरबा–अरबाइन’ पनि भनिन्छ।

व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ। नेपाल र भारतका उत्तरी क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो छठपर्व। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ।

यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाएर प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने प्रचलन छ।

छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुन: अर्घ दिई पूजा विसर्जन गरिन्छ। यस पर्वमा मुस्लिम समुदायका व्यक्ति पनि सहभागी हुन्छ र यो पर्व बिधिबत मनाउने गर्दछन्। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित ५ पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको कथन छ। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।

संसारका संपूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन। सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ। छठपर्वमा व्रत गरे दु:ख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। अर्थाभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन्।