हेर्नुहोस, आचारसंहिता अनुगमन समितिको बैठकमा भएको निर्णय

जनसम्मत
मंसिर २, २०७९, शुक्रबार

निर्वाचन आयोगको कार्यालयले आचारसंहिता सम्बन्धी निर्णय सार्वजनिक गरेको छ। आयोगले उक्त निर्णय सार्वजनिक गरेको हो ।

हेर्नुहोस, निर्णय :

१ निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार–प्रसार गर्न वा गराउन नहुने र सोही दफाको उपदफा (७) मा सो विपरीतका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको, निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको र संवत् २०७९ साल मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मिति २०७९/०८/०१ गते राती १२ बजेपछि निर्वाचन प्रचार–प्रसार सम्बन्धी कार्य गर्न नपाइने भएकोले उल्लिखित कानुनी व्यवस्था तथा निर्वाचन आचारसंहिताको प्रभावकारी रूपमा कार्यान्वयन गर्न देहायबमोजिमको व्यवस्था गर्नुपर्ने हुन्छ।

(क) मिति २०७९/०८/०१ गते राती १२ बजेपछि निर्वाचन प्रचार–प्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचार–प्रसार सम्बन्धी कुनैपनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई लेखी पठाउने।

(ख) मिति २०७९/०८/०१ गते राती १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मस्तिष्क मन्थनलगायतका निर्वाचन प्रचार–प्रसार सम्बन्धी कुनैपनि गतिविधि नगर्न वा नगराउन तथा फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचार–प्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक संचालनमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दल लगायत सम्पूर्ण सरोकारवालाहरूलाई निर्देशन दिने।

(ग) मिति २०७९/०८/०१ गते राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने।

२. मिति २०७९/०८/०१ गते राती १२ बजेपछि कसैले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीत निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गरेमा सोही दफाको उपदफा (७) बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरूलाई निर्देशन दिने।

३. मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका सांकेतिक अर्थ जनिने पोषाक, लोगो, ब्याज, झण्डा, टी–सर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टिकरलगायतका पहिरन र चीज वस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन दिने।

४. मिति २०७९/०८/०१ गते राती १२ बजेपछि सामाजिक सञ्जाल तथा अनलाइन संचार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्ने, नगराउने, यसअघि गरिएका यस्ता विज्ञापनहरू हटाउन सम्बन्धित संचारमाध्यमलाई अनुरोध गर्ने र सोको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिने।