सगरमाथाको उचाई नाप्नका लागि खटिएको नापी विभागको टोली शिखरमा पुग्यो

उचाई मापनका लागि ग्लोबल पोजिसनिङ सिस्टम जिपिएस उपकरणसहित सर्भेयर टोली बुधबार बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको हो

जनसम्मत
जेठ ८, २०७६, बुधबार

पोखरा ।  सगरमाथाको उचाई नाप्नका लागि खटिएको नापी विभागको टोली शिखरमा पुगेको समाचार छ ।

विभागका उपसचिव खिमलाल गौतम नेतृत्वमा गएको टोली बुधबार बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको हो । टोलीका सदस्य रविन कार्कीसहित क्लाइम्बिङ गाइड छिरिङ जाङ्बु शेर्पालगायतले शिखरमा पुगेर जीएनएनएस जीपीएस सेट गर्ने काम सम्पन्न गरेको बताइएको छ ।

सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापनका लागि ग्लोबल पोजिसनिङ सिस्टम जिपिएस उपकरणसहित सर्भेयर टोली सगरमाथामा पठाएको   थियो । उपकरणसहित सगरमाथाको शिखर जाने प्राविधिक र कर्मचारी आधार शिविरमा सोमबार पुगेर उचित मौसमको पर्खाईमा थिए । मौसमले साथ दिएपछि बुधबार दुईजना प्राविधिकसहित सहयोगी शेर्पा सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनीहरुले अब सगरमाथको उचाई मापन गर्ने छन् ।

टोली शिखरबाट फर्केर साउथकोल आइसकेको छ । सो टोली भोलिसम्म आधार शिविर आइपुग्ने आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोसन प्रालिले जनाएको छ ।शिखरमा जीपीएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण बिन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको छ । टोलीकै दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल भने आधार शिविरमा बसेर सहयोग गरिरहेका छन् ।

शिखरमा पुग्ने बित्तिकै उचाई पत्ता नलाग्ने नापी विभागले जनाएको छ । अब जीपीएसमा सेट भएका तथ्यांकका आधारमा संसारका दर्जनौं वैज्ञानिकले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरी उचाई टुंगो लगाएर पुष्टि गर्नेछन् । त्यसका लागि कम्तीमा अझै ६ महिना लाग्ने बताइएको छ ।

नापी विभागअन्तर्गत सगरमाथाको उचाई नाप्नका लागि प्रमुख काममध्ये शिखरमा पुग्नुपर्ने चुनौती थियो ।

यसअघि सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्न आवश्यक गृहकार्य सरकारले शुरु गरेपनि त्यसले गति लिन सकेको थिएन ।

सगरमाथाको उचाई नाप्न भूमि सुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले स्थलगत रुपमा प्रारम्भिक चरणको काम शुरु गरेपनि प्राविधिक कारणवश त्यसले गति लिन नसकेको स्वयं विभागकै अधिकारीहरूले बताउँदै आएका थिए ।

विश्वको सर्वोच्च शिखरका रुपमा रहेको सगरमाथाको उचाईको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपालले सगरमाथाको उचाई मापन नगर्नु, चीन, भारतलगायतका मुलुकले गरेको मापन अन्तरराष्ट्रियरुपमा विवादित बन्नु, विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’को प्रभावलगायतका कारण सगरमाथाको उचाई र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले मापनको गृहकार्य अघि बढाएको हो ।

विभागले गत मंसिर २५ र २६ गते भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकलाई अन्तरराष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो । विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार गरेको थियो ।

उक्त छलफलमा त्यसबखत सगरमाथाको उचाई मापन गर्ने टोलीमा सहभागी भएका अमेरिकास्थित कोलोराडो युनिभर्सिटीका प्राध्यापक रोजार विह्याम, सर्वे अफ इन्डियाका प्रमुखलगायतले नेपालले नै सगरमाथाको उचाई नाप्नु खुशीको विषय भएको बताएका थिए । त्यतिखेर, उनीहरुले आवश्यक प्राविधिक सहयोग गर्न आफूहरू तयार रहेको वचन दिएका थिए ।

नेपालले पहिलो पटक गर्न लागेको सगरमाथाको उचाई मापनमा विवाद नआओस् र त्यो सर्वस्वीकार्य होस् भनेर विश्वकै दक्ष विज्ञहरूलाई सहभागी गराइएको विभागको भनाई छ ।

यसअघि, सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाई मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाई मापन गरी फरकफरक उचाई निकालेका थिए । तर, त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । अहिले सबै पूर्वतयारी सकिएकाले मापनको कार्य अघि बढाएको विभागले जनाएको छ ।

विभागका अनुसार गत कात्तिक ७ गते सोलुखुम्बु पुगेर नेपाली टोलीले भारतीय सर्वेक्षकले त्यस बखत सगरमाथाको उचाई नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको थियो । सोलुखुम्बुको आठ, खोटाङ र दोलखामा दुई/दुई स्थानमा उक्त बिन्दु राखिएको बताइन्छ । टोलीले सोलुखुम्बुको चार स्थानमा राखिएको बिन्दु भेट्टाएको छ र बाँकी खोज्ने क्रम जारी छ ।

विभागका अनुसार दुई वर्षभित्र काम पूरा गर्ने लक्ष्यसहित विभागले प्रारम्भिक चरणको काम शुरु गरेको छ ।

नेपालमा नापी विभागसँग ६० वर्षको अनुभव छ र नयाँ प्रविधिका विषयमा समेत यसका जनशक्ति दक्ष भइसकेकाले उचाई मापन दुई वर्षभित्र पूरा हुने विश्वास विभागको छ ।

ओखलढुंगा सदरमुकाम जोड्ने सडक हुँदै सोलुखुम्बुको सल्लेरीदेखि उदयपुरको बाँसबारीसम्म अहिले लेभलिङको काम भएको थियो । वैशाख १२ को भूकम्पका कारण सडकको लेभलिङमा असर पुगेको÷नपुगेको यकिन गरी त्यसलाई प्रमाणित गर्ने काम भइरहेको छ ।

मापनका तीन विधि

विभागले उचाई नाप्न तीन वटा विधि प्रयोग गर्दैछ । ‘डाइरेक्ट मिजरमेन्ट’अन्तर्गत प्रत्यक्षरुपमा अगाडि÷पछाडि गरेर चुचुरोसम्मको उचाई नापिन्छ । त्यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाई नाप्न सकिन्छ । जसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाई मापन गरिन्छ । हाल प्रमाणित सगरमाथाको उचाई यही विधिबाट नापिएको थियो ।

तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जीपीएस प्रणालीबाट पनि उचाई मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाई नापेको थियो । त्यतिबेला चीनले सगरमाथाको उचाई आठ हजार ८४४ मिटर आसपास निकालेको थियो । तर, त्यसले अन्तरराष्ट्रिय मान्यता पाउन सकेन ।

एउटा मात्र विधि प्रयोग गर्दा विश्वसनीयतामा शंका उठाइन सक्ने भएकाले ‘हाइब्रिड’ पद्धति अपनाइने विभागको भनाई छ ।
विभागले आगामी दुई वर्षमा उचाइ मापन गरेर त्यसको प्रतिवेदन तयार पार्ने जनाएको छ । तल्लो भू–भागमा विभागकै टोलीले सबै काम गर्ने भए पनि माथिल्लो भेगमा भने पर्वतारोही प्रयोग गर्नुपर्नेछ ।

उचाई नाप्न एक याममा दुई पटक मात्रै अनुकूलता हुन्छ । सम्भावित प्रकोपले पनि यस्तो काममा प्रभाव पार्ने भएकाले तोकिएको समयसीमामै काम सम्पन्न गर्न सकिन्छ भनेर यकिन गर्ने अवस्था नरहेको विज्ञहरु बताउँछन् ।

विभागका अनुसार यो कार्यका लागि अनुमानित रु २५ करोड खर्च हुने यस कार्यका लागि प्रारम्भिक चरणमा (आव २०७४/७५ मा) रु दुई करोड निकासा भइसकेको छ । यसअघि सन् २०११ मै उचाई मापनसम्बन्धी कार्यविधि विभागले तयार पारेको थियो तर बजेटको व्यवस्था हुन नसकेर अगाडि बढ्न सकेको थिएन ।

यसअघि सन् १८५६ मा ब्रिटिस सर्वेयर जर्ज एभरेस्टले सर्वे गरी विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको प्रमाणित गरेका थिए । त्यसअघि भारतीय सर्वेयर राधानाध सिख्धरले १९५२ मै सगरमाथा सर्वोच्च शिखर भएको दाबी गरेका थिए । चीनले समेत यसअघि पटक–पटक सगरमाथाको उचाई नाप्ने काम गरेको छ ।

सगरमाथालाई सन् १९४९ र १८५० मा सर्भे अफ इन्डियाले मापन गर्दा उचाई आठ हजार ८४० मिटर निर्धारण गरिएको थियो । सन् १९५४ मा एसओआईका वीएल गुलाटीले मापन गर्दा आठ हजार ८४८ मिटर र सन् १९७५ मा तिब्बततर्फबाट चाइनिज ब्यूरो अफ सर्भे एन्ड म्यापिङले मापन गर्दा आठ हजार ८४४.४३ मिटर उचाई रहेको जनाएका थिए ।

सन् १९९९ मा बोस्टोन म्युजिएम अफ साइन्सका प्रो व्रड बास्र्बनले पहिलो पटक जीपीएस प्रविधिको प्रयोग गरी मापन गर्दा आठ हजार ८५० मिटर रहेको तथ्य सार्वजनिक भएको थियो । नेपाल सरकारले भने आइएसओले मापन गरेको आठ हजार ८४८ मिटरलाई आधिकारिक उचाई मान्दै आएको छ ।