टाइगर कप भलिबलः पुरुषतर्फ पुलिस र एपीएफ विजयी

महिलातर्फ आर्मी र एपीएफको जित

जनसम्मत
माघ १०, २०७९, मंगलवार

तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को तेश्रो दिन (मंगलबार) विभागीय टोलीको बर्चश्व रह्यो।

पुरुषतर्फको खेलमा विभागीय क्लबहरुले वर्चश्य कायम राख्यो।  मंगलबार भएको पुरुषतर्फको खेलमा विभागीय नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्न सफल बन्यो।

नेपाल पुलिसले श्रीलंकाको सेन्ट जोशेफ वाज स्पोर्टस क्लबलाई ३–२ को सेटले र एपीएफले घरेलु गण्डकीलाई ३–१ को सेटले पाखा लगायो।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा नेपाल पुलिसले सेन्ट जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको छ। खेलमा नेपाल पुलिसले पहिलो २ सेट श्रीलंकालाई सुम्पिए पनि पछिल्ला ३ सेटमा कमब्याक गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ। पहिलो र दोश्रो सेट १९–२५ र २३–२५ ले श्रींलकाको पाहुना टोलीलाई सुम्पिएको पुलिसले पछिल्ला ३ सेट २५–२३, २५–१९ र १५–१३ ले आफ्नो पक्षमा पार्न सफल भयो।

त्यस्तै, पुरुषतर्फकै अर्को खेलमा आयोजक गण्डकी शसस्त्र प्रहरीसँग हार व्यहोरेको छ। खेलमा पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपीएफले २५–२३ ले दोश्रो सेट जित्दै गण्डकीलाई दबावमा राखेपनि तेश्रो सेट २५–२० ले गण्डकीले आफ्नो पक्षमा पारेको थियो। त्यस्तै, चौथो सेटमा २५–१९ ले एपीएफले खेल जित्यो। खेलमा एपीएफका विजय थापा ‘प्लेयर अफ दि म्याच’ र एपीएफकै टेकराज अवस्थी ‘वेष्ट स्पाइकर’ घोषित भए ।

तेश्रो दिनको खेलमा महिलातर्फको दुवै खेलमा विभागीय टोलीको बर्चश्व रह्यो। एपीएफले होङवान्जी न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दा दोश्रो खेलमा घरेलु टोली गण्डकी त्रिभुवन आर्मीसँग सोझो ३–० को सोझो सेटले पराजित बन्यो।

पहिलो खेलमा एपीएफले न्यू डायमण्डविरुद्ध २५–१५, २५–२० र २५–७ ले जित निकाल्यो। उक्त खेलमा एपीएफकी सरस्वती चौधरी ‘प्लेयर अफ दि म्याच’ र एपीएफकै निरुता ठगुन्ना ‘वेष्ट स्पाइकर’ घोषित भइन।

दोश्रो खेलमा नेपाल आर्मीले घरेलु गण्डकीलाई २५–१०, २५–१६ र २५–१६ ले हरायो। उक्त खेलमा आर्मीकी सोफिया पुन ‘प्लेयर अफ दि म्याच’ र सुनिता खड्का ‘वेष्ट स्पाइकर’ बनिन्।

महिलातर्फ नेपाल आर्मीको त्रिभुवन क्लव र एपीएफ क्लवले समान २÷२ खेलबाट समान ६÷६ अंङक बटुलेको छ भने जितविहीन न्यू डायमण्ड र गण्डकीको शून्य अंक छन्।