यस्तो रहेछ, पोखरामा विमान दुर्घटना हुनुका कारण

दु्र्घटना भएको यति एयर विमानको तथ्य फेला, प्रारम्भिक रिपोर्ट सार्वजनिक

जनसम्मत
माघ २३, २०७९, सोमबार

पोखराको सेती खोँचमा यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक चरणको तथ्य पत्ता लागेको छ।

दुर्घटना जाँच आयोगद्वारा सोमबार जारी विज्ञप्तिअनुसार फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसन्धान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको छ।

दुबै इन्जिनका प्रोपेलर ब्लेड फेदर हुनुको मतलब जहाज निश्चित डिग्रीअनुसार छड्के नभई ९० डिग्री (सिधा) हुनु हो। सिंगापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोले उक्त तथ्य फेला पारेको हो।

गत साता फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसनधान गरिएको थियो। अनुसन्धानमा दुबै इन्जिनमा रहेका प्रोपेलर ब्लेड फेदर भएको देखिएको हो।

एटीआर–७२ विमानको एउटा इन्जिनमा ६ र अर्को इन्जिनमा ६ वटा प्रोपेलर (ब्लेड) गरी जम्मा १२ वटा हुन्छन्। पाइलटले जहाज उडान भर्दा प्रोपेलरको ब्लेडको ककपिटमा रहने लिभरको सहायताले आवश्यकताअनुसार छड्के बनाउन सक्छन्।

तर, इन्जिनमा प्रोपेलर ब्लेड हुँदा जहाजमा अत्यधिक घर्षण उत्पन्न हुने र जहाजलाई अगाडि हुत्याउने सामाथ्र्य इञ्जिनमा हुँदैन।

उक्त अवस्थामा जहाज सजिलै धावनमार्गमा अवतरण गर्न नसकि आकाशबाट कुनै गह्रौं वस्तु खसे जसरी भुइँमा बज्रन पुग्छ। पोखरामा यतीको एटीआर विमान पनि त्यसरी नै दुर्घटनामा परेको आयोगले जनाएको छ।

अहिले उक्त जहाजका दुवै इञ्जिनका प्रोपेलर फेदरमा कसरी गयो भन्नेबारे आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान गरिएको बताइएको छ।

हेरौं, यस्तो छ रिपोर्ट