उपनिर्वाचन: मध्यरातदेखि मौन अवधि सुरु

जनसम्मत
वैशाख ८, २०८०, शुक्रबार

उपनिर्वाचनमा हिँजो (बिहीबार) मध्यरातदेखि मौनअवधि सुरु हुने भएको छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले मौनअवधि तोकेको हो।

वैशाख १० गते (आइतबार) हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचार–प्रसार सकिएको छ। निर्वाचन कानुनअनुसार मतदान हुनुअघिको ४८ घण्टाको समयलाई मौन अवधि मानिने व्यवस्थाअनुसार बिहीबार दल तथा उम्मेदवारहरूले अन्तिम तथा निर्णायक प्रचार–प्रसार गरेर आफ्नो चुनावी अभियानलाई सकेका छन्।

चैत २४ गतेदेखि नै आचारसंहिता जारी गरेको आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचार–प्रसार निषेधको अवधि लागु हुने व्यवस्था रहेको जनाएको छ।

उक्त व्यवस्थाबमोजिम बिहीबार राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार–प्रसार निषेधको अवधि कायम गरिएको आयोगको निर्देशन छ।

उक्त अवधिमा निर्वाचन प्रचार–प्रसारलगायत कुनैपनि प्रकारका छलफल, अन्तक्रिया सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन।

यस्तै, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्नसमेत निषेध गरिएको छ।

यो अवधिमा निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न पनि आयोगले सचेत गराएको छ।

तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै उपनिर्वाचन हुन लागेको हो।

आइतबार हुने उपनिर्वाचनका लागि चैत २० गते तीन निर्वाचन क्षेत्रमा गरेर ६९ जनाको उम्मेदवारी परेको थियो। चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ जना उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।