गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

जनसम्मत
वैशाख २१, २०८०, बिहीवार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

वैशाख १४ गते गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भई १५ गते शपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सासंद तटस्थ रुपमा वसेका छन्।

पाण्डेलाई आफ्नै दल नेपाली काँग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र रुपमा सर्वसम्मत निर्वाचित भई एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङ्गे) सहित ३५ सांसदले विश्वासको मत दिएका थिए।

नेकपा एमालेका २२ सांसदले विपक्षमा मतदान गरेका छन्। राप्रपाका २ सांसद भने तटस्थ बसेका छन्। पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमाले नेता खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले काँग्रेस–माओवादीको बहुमत सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए। कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वासको मत प्राप्त गर्न सकेका थिएनन्। संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्रीको सपथ लिएकै दिन नेपाली काँग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादी केन्द्रबाट सुशीला सिम्खडालाई बिना विभागीय मन्त्री नियुक्त गरेर ३ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका थिए। खगराज अधिकारीले मन्त्रालयको संख्या १२ बाट ७ मा झारेपछि पाण्डेले पनि सोही संख्या कायम गर्ने घोषणा विश्वासको मत लिएपछि संचारकर्मीसँग बताएका छन्।